धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको निधन

everest kitchen

 

सुरेन्द्र महतो
धनुषा । प्रदेश न.२ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरका पाँचजना बालिकाको शुक्रबार दिउँसो साढे १२ बजे पोखरीमा नुहाउने क्रममा मृत्यु भएको छ । स्थानीय हुलास यादवको खेतमा माछापालनको लागि खन्दै गरेको पोखरीमा जमेको पानीमा पाँचैजना बालबालिकाको डुबेर मृत्यु भएको हो ।

मृत्यु भएका पाँचजना बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनास्थलको मुचुल्का गरी पाँचैजना बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साह छिन् ।

डीएसपी मिश्रका अनुसार घरबाट खानाखाएर ७ जना बालिकाहरु चौरीमा बाख्रा चराउन गएका थिए । त्यस क्रममा उक्त पोखरीमा पाँचजना बालिका नुहाउन पसेपछि डुबेको र दुई बालिका गाउँमा आएर खबर गरेपछि स्थानीयहरु पुगेका थिए । तर त्यति बेलासम्म पाँचैजना बालबालिकाको मृत्यु भइसकेको थियो ।

दुई बालिका पोखरीमा नपसेको कारण उनीहरुको ज्यान जोगिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट पुगेको प्रहरी टोलिले घटनास्थलमा पुगेर पोखरीको सर्च गरेको छ । मृतक बालिकाहरुको शव मुचुल्का गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल ल्याएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।