उपचाररत अभिनेत्री निशाको परिवारलाई कलाकर्मीको आर्थिक सहयोग

everest kitchen

काठमाडौं । हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको परिवारलाई विभिन्न कलाकर्मीले आर्थिक सहयोग गरेका छन् । ‘कलाकारलाई कलाकारको साथ’ भन्ने नारासहित करिब आधा दर्जन कलाकर्मीले अभिनेत्री घिमिरेका पिता प्रेम प्रसाद घिमिरेलाई रकम सहयोग गरेका हुन ।

अभिनेत्री करिश्मा मानन्धरले २५ हजार, ,अभिनेत्री रेजिना उप्रेतीले नगद दश हजार, हाल अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार तथा अमेरिकामा रहेका प्रकाश थापाले पठाएको दश हजार गरेर ६७ हजार अभिनेत्री निशाका पिता प्रेमप्रसाद घिमिरेलाई प्रदान गरिएको हो ।

नेपाल चलचित्र कलाकार संघको समन्वयमा शनिबार संघका वरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटो पत्रकार विकास रौनियार र स्थानीय रत्न तामाङको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

नायिका निशा घिमिरेको शारीरिक अवस्था निकै नाजुक रहेको छ । नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएर उदयमान नायिका रुपमा रहेकी नायिका निशा दुर्घटनापछि नाजुक अवस्थामा पुगेकी हुन ।

अभिनेत्री बन्ने रहरले भारत पुगेकी घिमिरेको जीवनमा अप्रत्याशित दुर्घटना भएपछि उनको सपना -सपनामै सिमित हुने भएको छ । डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटना परेपछि उनको ब्रेन ह्यामरेज भएको छ । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो ।

निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् । उनको हालको अवस्था देखेर जो कोहीको पनि आँखा रसाउछ ।

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भुुमिका निभाएकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, केही म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । निशालाई सहयोग गर्न उनका बाबु राजु घिमिरेलाई ९८५१२३८९५२ मा सम्पर्क गर्न सकिने बताएको छ ।