आकर्षण बन्यो रूखमाथि बनेको घर

everest kitchen

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ। निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन्। दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन्।

रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो। डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रूखमाथि घर बनाइएको छ। गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए।

‘जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास भइरहेको छ,’ उनले भने। उद्यान निर्माणका लागि वन कार्यालयले १२ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् दुई लाख ५० हजार रुपैयाँ लागत सहभागिता बेहोरेको छ। कुल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो।

पृथ्वीराजमार्गबाट २०० मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउने उद्देश्यबमोजिम उद्यानका साथै रूखमा घर बनाइएको हो। ‘उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडि सारेका हौं,’ उनले भने, ‘रूखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ।’

रूखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ। ‘दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ,’ उनले भने, ‘पाँच÷सातजना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ।’ त्यस ठाउँलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ। राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ।