चितवनमा फेरि एक साता निषेधाज्ञा थपिदै

everest kitchen

लक्ष्मण भट्ट,
चितवन । चितवनमा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिदै छ । यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा आज दिउँसो ३ बजे बैठक बस्दै छ ।

जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरणमा आइनसकेकाले निषेधाज्ञा थप गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल लामिछानेले उज्यालो नेटवर्कलाई जानकारी दिए । ‘आज बैठक बसेर निर्णय गर्छौ’ प्रजिअ लामिछानेले भने ‘संक्रमणदर अझै नघटेकाले केही दिन थप्ने सुझाव आइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालयले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको अवधि भोलि (बिहीबार) राति १२ बजेबाट सकिदै छ । पछिल्लो पटक निषेधाज्ञा थप गर्दा केही क्षेत्रलाई खुकुलो पारिएको थियो । अहिले थपिने अवधिमा निषेधाज्ञा कुन मोडालिटीमा गर्ने भन्ने विषयमा आज छलफल हुनेछ । अहिले बाढी, पहिरोका कारण मानिसहरुको झनै भिडभाड हुन सक्ने संभावना रहेकाले अहिलेकै अवस्थामा निषेधाज्ञा थप गर्ने गृहकार्य हुँदैछ ।

एक समय जिल्लामा दिनमै ४ सय जनाको हाराहारीमा कोरोना संक्रमित फेला पर्दै आइरहेका थिए । अहिले दैनिक एक सयको हाराहारीमा संक्रमित फेला पर्न थालेका छन् । परीक्षणको दायरा पनि कम भएकाले अहिले संक्रमित कम फेला पर्न थालेको अनुमान छ । डेढ महिना लामो निषेधाज्ञाले पनि जिल्लामा कोरोना संक्रमण न्यूनीकरणमा सघाउ पुर्याएको चिकित्सकहरु बताउँछन् ।