हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

everest kitchen

मनाङ । मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् ।

हालसम्म पनि वर्षा र जोखिम कायम रहेपछि मनाङेहरु लमजुङ, काठमाडौँ, पोखरातर्फ आउन थालेका हुन् । नासो गाउँपालिका–८ ताचे ओडारका ३५ वर्षीय विष्णु घले, ३२ वर्षीय चन्द्रकाशी गुरुङ, ३१ वर्षीय सञ्जय गुरुङ, १४ वर्षीय सविना गुरुङ र सोही हेलिकप्टरमा गोरखा सिरनचोकका २२ वर्षीय पुकार गुरुङ आज मनाङबाट हेलिकप्टर रिजर्भ गरेर लमजुङ आइपुगेका छन् ।

पुकार गुरुङ भने गत जेठ २६ गते मनाङ ताचे घुम्न गएको र पहिराका कारण रोकिएर बसेका थिए । विष्णु घलेले भने, “मनाङ ताचेबाट हेलिकप्टरमा हामीले प्रतिव्यक्ति रु २० हजारका दरले तिरेर बेँसीशहर आएका हौँ । यसरी आउनु हाम्रो रहर होइन बाध्यता भएको उनको भनाइ छ ।

घलेले भने, “गाउँभन्दा तल नै सुरक्षित छ, मनाङका गाउँहरुमा वारिपारि पहिरो अझै पनि गइरहेको छ । गाउँमा बिजुली लाइन छैन, वाइफाई छैन, बाटो छैन, मोबाइलमा चार्ज गर्न पाएको छैन यतिबेला त्यहाँ धेरै समस्या रहेको उनीहरुको भनाइ छ ।”

हामीमध्ये लमजुङमा कोही शिक्षक कोही विद्यार्थी रहेको र सोका लागि पनि आएको चन्द्रकाशी गुरुङले बताए । उनले भने, “हिँडेर आउनलाई बाटो छैन, जोखिम बढी छ, नआऔँ भने यता काम पनि गर्न पाइँदैन । यसरी आउने हामी मात्र होइन गाउँका अन्य स्थानीयपवासी पनि हेलिकप्टरबाट लमजुङ काठमाडौँ जान थालेको उनीहरुको भनाइ छ ।

मनाङ घर भए पनि रोजगारीलगायत विभिन्न कामले जिल्लाबाहिर बस्नेहरु यतिबेला काठमाडौँ, लमजुङ हेलिकप्टरबाट जाने क्रम जारी रहेको विष्णु घलेले बताए ।