काठमाडौँ उपत्यकामा बार तोकेर पसल सञ्चालन: कुन बार कुन पसल खुल्छन? 

everest kitchen

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो ।

व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ ।

यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीबाहेक) सपिङ मल, खेलकूद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहारका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोबाइल पार्ट्स पसल, इलेक्ट्रोनिक्स पसललाई पनि आइतबार, मङ्गलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

निर्माणजन्य सामग्रीको पसल (हाडवेयर्स, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राति मात्र गर्न भनिएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ ।

खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री बिक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकामा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । सवारी मर्मतका पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ । विवाह, व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने छ । यसका लागि दुईवटा सवारी साधान प्रयोग गर्न सकिने छ ।

अत्यावश्यक सेवाजस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मत, स्वास्थ्यसम्बन्धीका गाडी, दूरसञ्चार, इन्टरनेट मर्मत, कार्गाे, कुरियर तथा डाँक सेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ । भीडभाड हुने सबै गतिविधि, फुटपाथ र खुला ठाउँमा हुने व्यापार, होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतबन्ध, नित्यकर्मबाहेकका धार्मिक कार्यक्रम सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न पाइने छैन ।

सार्वजनिक सवारी सञ्चालन र अत्यावश्यक सवारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्र्नेबाहेकका अन्य जिल्लाबाट पासविहीन सवारीका साधन काठमाडौँ उपत्यकामा सञ्चालन र प्रवेशमा रोक लगाइएको छ । प्रशासनले जारी गरेको आदेशमा शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्न सकिने छ ।

वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ । उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माणकार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।