भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोडको बजेट सार्वजनिक

everest kitchen

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् ।

यस्तो व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार,जनसहभागिताबाट रु ३० करोड,बैंक मौज्दातबाट १ अर्ब,मर्मत सम्भार कोषबाट रु ३ करोड,सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ ।

त्यस्तै महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु २ करोड बजेट छुट्याएको छ । यसका साथै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नका लागि भन्दै महानगरले एकमुष्ट रु ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।