मुसिकोट नगरपालिकाद्धारा १६ वटा स्वास्थ्य संस्थालाई बिरामी उपचार बेड उपलब्ध

everest kitchen

रुकुम । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकाले नगरक्षेत्रमा रहेका स्वास्थ्य संस्थामा बिरामी राख्ने बेड उपलब्ध गराएको छ । आर्थिक बर्ष २०७७।०७८ मा नगरपालिका अन्तरगत स्वास्थ्य संस्था सुधार तथा ब्यबस्थापन तर्फको बजेटबाट बिरामी राख्ने बेड र बेडमा राख्ने म्याट्रिएस लगायतका सामाग्री खरिद गरि स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो ।

नगरभित्रका १६ वटा स्वास्थ्य संस्थामा दुइ–दुइ वटाका दरले ३२ वटा बिरामी राख्ने बेड र बेडमा राख्ने म्याट्रिएस लगायतका सामाग्री उपलब्ध गराइएको स्वास्थ्य शाखाका प्रमुख मान बहादुर खत्रीले जानकारी दिए । हाल सञ्चालनमा रहेका १५ वटा स्वास्थ्य संस्था र निर्माणाधिन अबस्थामा रहेको एउटा गरि १६ वटा स्वास्थ्य संस्थामा ती स्वास्थ्य सामाग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य संस्थामा दैनिक उपचारका लागि आउने बिरामीलाई उपचारमा सहजता पैदा होस् भन्ने उद्देश्यले उक्त सामाग्री उपलब्ध गराइएको हो । नगरपालिकाले बिरामी राख्ने बेड लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य संस्थामै पुगेर हस्तान्त्रण गरेको उल्लेख गरेको छ ।