रत्ननगरले दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिने

everest kitchen

 

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ ।

नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ । नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै प्रस्तावहरुमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।