धादिङमा पहिरोले ५ सवारी साधन पुरिदा २ जनाको निधन

everest kitchen

धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोले ५ सवारी साधन पुरिँदा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।

काठमाडौँ तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र चितवनबाट काठमाडौँ जादै गरेको ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए। प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो।

त्यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभम कुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजा कुमार घाईते भएका छन्।

पहिरोले सवारीसाधन पुरिँदा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका वडा नं ६ का ४० वर्षीय हरिबहादुर प्रजा , चितवन भण्डाराका ३६ वर्षीय सुदिप प्रजा घाईते भएका छन्। घाईतेहरुको चितवनमा उपचार भइरहेको छ।