एक वर्षभित्र राजधानी सार्ने तयारी लुम्बिनी प्रदेश

everest kitchen

दाङ्ग। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो ।

प्रदेश सरकारअन्तर्गत ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी देउखुरी उपत्यकाबाट औपचारिकरूपमा कामकाज शुरु गरेको छ । लुम्बिनी प्रदेश ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले प्रदेशको हिउँदे अधिवेशनसम्म प्रदेशका सबै मन्त्रालय दाङको देउखुरीमा स्थापना हुने बताए । गत असोज २० गते प्रदेशसभाबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो ।

स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट मन्त्रालयले कामकाज शुरुआत गरेको अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रिजालले प्रदेशसभा भवन निर्माण काम भइरहेको र स्थायी राजधानीको स्थान राप्ती प्राविधिक शिक्षालयलाई गोबरडिहा सार्ने सहमति गरेर शिक्षालयका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइरहेकाले सबै कार्यालय छिट्टै देउखुरी आउने विश्वास व्यक्त गरे ।

“सबै कार्यालयलाई व्यवस्थापन गर्ने जिम्मेवारी ग्रामीण तथा शहरी विकास मन्त्रालयको भएकाले यहाँ आएर कामको शुरुआत गरेका छौँ । केही दिनभित्रै आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई स्थायी राजधानीमा सार्ने गरी काम थालेका छौँ”, मन्त्री रिजालले भने, “एक वर्षभित्र सबै मन्त्रालय सार्छौँ र नमूना शहर बनाउँछौँ ।”