आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम

everest kitchen

भर्खरै लिम्बू विवाहसँग सम्बन्धित लघुचलचित्र खेदा (कथा) सार्वजनिक भएको छ । लिम्बूजातिमा मागी, भागी, जारी विवाह चल्ने गर्दछ । मागी विवाहमा आएका लोकन्दी (बेहुली पुर्‍याउन आएका पाहुना) तानेर विवाह गरिएको दृश्य यस लघुचलचित्रमा देख्न पाइन्छ ।

यस लघुचलचित्रबाट सवनम साँवा लिम्बूले नायिकाको रूपमा पदार्पण गरेकी छिन् । सवनमको उपस्थितिले नेपाली चलचित्रजगतको लागि सम्भावनायुक्त कलाकार पायो भन्दा अन्यथा नलाग्ला ।

सवनमको उपस्थिति यो लघुचलचित्र पहिलो भने होइन । यसअघि ५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । त्यसमा पनि उगेश लिम्बूको ढिडो गीत कोशेढुङ्गो नै बनेको छ ।

मिस लिम्बू –२०१७ मा समेत सहभागी बनेकी सबनमले सेकेण्ड रनरअपको ताज जितेकी थिइन् । सेकेण्ड रनरअप बनेपछि नै उनलाई म्युजिक भिडियोहरूमा काम आउन थालेको हो । सकभर यादगार र अर्थपूर्ण कामहरू गर्न पाए हुन्थ्यो भन्ने अठोट लिएकीले उनको ति थोरै गरेका कामहरू प्रशंसनीय छन् ।

लोकेन साँवाद्वारा निर्देशित राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा उनले सर्वप्रथम पाइला राखेकी थिइन् । त्यसपछि ढिँडो, राज हाङ्खिम राईको अनगिन्ति, रेज लिम्बूको सुन्दरता, रीता फोम्बो ठुलीको फक्ताङ्लुङ सेसेलगायतमा उनले काम गरेकी छिन् ।

नेपालको सुदुरपूर्वी जिल्ला ताप्लेजुङको चाँगेमा बुबा मनकुमार लिम्बू र आमा नरमाया आङ्बुहाङबाट जन्म लिएकी हुन् सवनमले । मोरङ जिल्लाको पथरीबाट बाल्यकाल तथा शिक्षादिक्षालाई अगाडि बढाएकी सबनमको सानैदेखि कलाक्षेत्रमा मोह थियो । स्कुल पढ्दा वादविवाद प्रतियोगितामा भाग लिने, सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिने, कार्यक्रम सञ्चालन गर्ने गर्दथिइन् । नाटकको मोह भएपनि स्कुलमा त्यो अवसर भने नपाएको बताउँछिन् ।

चिकित्सा क्षेत्र उनको रोजाई हो । त्यसैले त्यतातिर उनले अध्ययन गरिरहेकी छिन् । समय मिले र राम्रा कामको अनुरोध आए कलाक्षेत्रलाई निरन्तरता दिने उनको लक्ष्य रहेको छ।