धनुषा बटेश्वरकी एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

सुरेन्द्र महतो
धनुषा। धनुषाको बटेश्वर गाउँपालिका – २ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया श्रीमती अञ्जु महतो मृतावस्थामा फेला परेकी छन्। आइतबार साँझ उनि शंकास्पद मृतावस्थामा फेला परेकी हुन् ।

आइतबार साँझ आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले हामिलाई जानकारी दिए ।उनका अनुसार साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको र घाँटीमा झुण्डेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ । पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरी निरीक्षक सुनारको भनाइ छ।

घरको छानामा अञ्जुको सल बाँधिएको थियो । परिवारजनले भने अञ्जुले आफै देहत्याग गरेको बताएका छन । माइत पक्षले भने घरपरिवार मिलेर छोरी अञ्जुको ज्यान लिएको दावी गरेका छन । घटनास्थलको प्रकृतिले अञ्जु त्यस्तो नगरेको र घरपरिवार नै मिलेर घाँटी थिचि ज्यान लिएको मृतकका बुबा महोत्तरीको गौशाला नगरपालिका १० भरतपुर बस्ने रामजतन महतोको आरोप छ ।

अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्षसंग भएको थियो । विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइती पक्षलाई पटक पटक सुनाएको उनीहरुको आरोप छ ।

घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीको ज्यान लिने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् । अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।