घाँसीजयन्ती कार्यक्रममा कविता प्रतियोगिता

everest kitchen

काठमाडौँ । भानुभक्तका प्रेरकव्यक्ति घाँसीको सम्झनार्थ घाँसीजयन्ती कार्यक्रम कविता प्रतियोगितासहित सम्पन्न भएको छ । कविता प्रतियोगिताबाट नयाँअनलाइनका सम्पादक सीता तुम्खेवा प्रथम भएका छन् । सहभागी १६ जना मध्यबाट सीता तुम्खेवा प्रथम भएका हुन् ।

प्रतियोगितामा धरानबाट हेन्सेन याक्खा दोस्रो भएका थिए भने धरानबाट नै प्रदीप योङ्हाङ तेस्रो भएका थिए । सान्त्वना उदयपुरबाट टीका मगरले पाए । विजेता कविले क्रमशः नगद १५, १०, ५–५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

घाँसी मगर जातिको खड्ग ठाडा हुनसक्ने अध्येयताहरूको अनुसार प्रथम खड्ग ठाडा मगर जयन्तिको आयोजना गरिएको आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ युकेले कार्यक्रमको आयोजना गरेको हो ।

भर्चुअलमाध्यमबाट सम्पन्न भएको कार्यक्रममा अन्य प्रतियोगीहरू अमृत राई पाँचथर, औतारी साइँला युके, इन्दिरा नेम्बाङ पाँचथर, गुरूप्रसाद कुमाल ‘बुलबुल’ दाङ, जीत ठकुरी नवलपुर, टीका टोली मगर सिरहा, टंकबहादुर आले मगर उदयपुर, नवीन लामा, निमा पोङ्सुवा धरान, मञ्जु राई खोटाङ, विमला तुम्खेवा हङकङ, सन्तोष हरदम मगर रोल्पा, सीताराम राई थिए ।

आदिवासी अभियन्ता आङकाजी शेर्पाको परिकल्पनामा लेखक महासंघले आयोजना गरेको हो । घाँसी एक प्रेरक ब्यक्ति जसको इतिहास मेटिएको र त्यसमा पनि घाँसी नेपालका आदिवासी भएकोले उसको इतिहास लुकाएकोले त्यसलाई खोजी गर्नको लागि पनि घाँसी जयन्ती मनाएको आयोजकले जनाएको छ । आदिवासी जनजाति लेखक साहित्यकार महासंघका अध्यक्ष राजन मुकारुङको प्रमुख आतिथ्यमा भएको थियो ।

हरेक असार महिनाको २९ गते भानुभक्त जयन्ती मानिदै आएको छ । तर भानुभक्तको प्रेरक ब्यक्ति घाँसी आदिवासी भएकै कारण ओझेलमा पारेको भन्दै घाँसी आदिवासी जयन्ती मनाएको आयोजकको धारणा थियो । वास्तविक घाँसी को थिए भन्ने खोजको बिषय भएकोले घाँसी खड्क नाम गरेको ठाडा मगर भएको समेत तथ्य फेला परेको हुनाले प्रथम पटक ऐतिहासिक रूपमा जयन्ती मनाइएको हो ।

कार्यक्रममा आदिवासी अभियन्ता आङकाजी शेर्पाले वास्तविक इतिहास नलेखिने भएकोले घाँसी आदिवासी भएकोले नै उसको इतिहास नलेखिएको बताए । भानुभक्त आदिकवि नभएर रामायण अनुवाद गर्ने अनुवादक मात्र भएको दाबी गरे । शेर्पाले कोरोना लकडाउनका कारण जुममार्फत कार्यक्रम आयोजना भएको भन्दै आगामी दिनमा खुल्ला रूपमा व्यापक कार्यक्रम गरिने पनि प्रतिबद्धता जनाए ।

कवि साहित्यकार राजन मुकारुङले घाँसीलाई दरिद्र घर भएको भनेर होच्याउने शब्द लेखिएको आक्रोश पनि व्यक्त गरेका थिए । केही अप्रतियोगी कविताहरु पनि प्रस्तुत भएको कार्यक्रम सञ्जोग लाफा मगर, विश्वासदीप तिगेला, भगवान चाम्लिङले आफ्ना भनाईहरु राखेका थिए ।