महाधिवेशन एक दिन पनि सर्दैन : देउवा

everest kitchen

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका प्रारम्भिक मतदाता (क्रियाशील सदस्य) को विवाद समाधानउन्मुख भएकाले अब महाधिवेशन भदौमै हुने भएको छ । क्रियाशील सदस्यको विवाद ७७ जिल्लामध्ये ७५ जिल्लामा समाधान भएको छ भने बारा र सप्तरीमा केही दिनभित्रै टुङ्ग्याइने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले अब सिङ्गो पार्टीलाई महाधिवेशनमा लगाउने निष्कर्ष पनि निकालेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भदौमा तोकिएको महाधिवेशन एक दिन पनि नसर्ने स्पष्ट पारेका छन्। काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने तय यसअघि नै भइसकेको छ ।

बैठकपछि गोरखापत्रसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार नै हुन्छ, निर्वाचन निर्देशिकामा रहेका व्यवधानलाई समाधान गर्न एउटा समिति गठन भएको छ । त्यसले सबै कुराको अध्ययन गरेर समाधान खोज्ने छ ।’

निर्देशिकामा देखिएका समस्या समाधानका लागि पदाधिकारी बैठकले पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महत र केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । बैठकमा सभापति देउवाले पार्टीको महाधिवेशन एक दिन पनि सार्न सकिँदैन’ भन्दै अन्य समस्या समाधान गरेर जानुपर्छ भनेर महाधिवेशन तोकिएको समयमै गराउने आफ्नो अडान दोहोलसयाउनु भएको जानकारी मुख्य सचिव पौडेलले दिए ।

बाँकी रहेका बारा र सप्तरीका क्रियाशील सदस्यताको विवाद मिलाउन केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिलाई अझै एक दिन प्रयासका लागि समय दिने र समाधान नभएमा नेतृत्वले टुङ्ग्याउने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।

समितिमा संयोजक रमेश लेखक, सदस्यहरूमा आनन्दप्रसाद ढुङ्गाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ, योगेन्द्र चौधरी हुनुहुन्छ । निर्देशिकामा रहेका कतिपय प्रावधान र विधानले पारेका अप्ठ्यारालाई समाधान गर्न शनिबार नेताद्वय डा। महत र डा. रिजाललाई निर्वाचन समितिसँग बसेर टुङ्ग्याउन पनि पदाधिकारी बैठकले जिम्मेवारी दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।