मोवाईल – बिणा नेम्कुल

everest kitchen

लघुकथा – मोवाईल

बिणा नेम्कुल
श्रीमतीले भात पस्केर टेवलमा राखेपछि श्रीमान् मोवाइल बोकेर आउथ्यो र दाँया वायाँ नहेरी केहि नवोली मोवाइल हेर्दै खाना खान्थ्यो । छोरीसंग जिस्किदै खाना खाने मान्छेमा यस्तो अचानक के भयो । दुइ तिन दिन देखि श्रीमानको वानीमा आएको यस्तो परिवर्तनको ख्याल गर्दै थिइन् श्रीमतीले ।

दुइ वर्षकी छोरीलाई मोवाइलमा कार्टुन देखाउदै भात खुवाइरहेकी श्रीमतीले अचम्म मान्दै सोधिन् ।

“छोरीलाई मोवाइल नदेखाए एकघण्टा लगाएर खाना खान्छ । वाध्य भएर देखाउनु पर्छ । हैन तपाई पनि के गरेको यो? छोरी जस्तै मोवाइल हेरी हेरी खाना खाने ।”

श्रीमान केही नवोली खाना खाइवरी उठे । भोलीपल्ट पनि त्यसै गरे । भोली पनि श्रीमतीले त्यही प्रश्न सोधे । आखा तरेर रिसाउदै हेरे मात्र, केही भनेन ।

“किन मोवाइल हेरी खाना खाएको भनि सोध्दा रिसाउनु पर्छ” झर्किदै श्रीमतीले सोधिन् । उनलाई अचम्म लाग्दै थियो आखिर किन श्रीमान मोवाइल हेरी हेरी भात खान्छ ।
भोलीपल्ट पनि त्यसै गरे र श्रीमतीले फेरी उत्तर खोज्ने प्रयास गरे । “मोवाइल देखाएर भात खुवाउँदा छोरीले अलि धेरै भात खान्छ । मोवाइल हेरेर तपाई त झन थोरै भात खानुहुन्छ । आज त नभनी जानै दिन्न”

“हेर वुढी, भन्दा पनि केही हुन्न । नभन्दा पनि केही हुन्न । तिमिले केही गर्न सक्ने होइन । त्यसैले तिमि चुप लाग । म जे गर्छु गर्न देउ ।” “तपाईको लागी म जे पनि गर्छु । के गर्नु पर्यो पहिला भन्नु न ।”

मोवाइल हेरेर भात खानुमा उस्ले गर्न सक्ने नसक्ने कुरा कसरी जोडियो उनी अचम्म थिइन् । “भयो छोड केही समयको लागी मात्र हो म बुझ्छु। यसमा तिम्रो केहि दोष छैन “ श्रीमानले फेरी नभन्ने उपाय लगाए

तर श्रीमतीले भन्नै पर्ने ढिपी कसिन् र नभनेसम्म नबोल्ने कसम खाइन् । “तिमिले कसम नै खाए पछि मैले भन्नै पर्यो “ मोवाइलमा आफुले हेर्दै गरेको भिडियो देखाउदै श्रीमानले भने “यु ट्युमा मासुको परिकार बनाएको अनि अरुले मासुभात ग्वाम ग्वाम खाएको हेरेर भैले भात खाएको । अब चित्त बुझ्यो “

श्रीमती जिल्ल परिन् । हप्तामा तिन दिन मासु खानु पर्ने श्रीमानलाई मासु कम खुवाउने बहानामा उनले श्रावन महिना भरी मासु नखाने र नपकाउने घोषणा गरेकी थिइन् ।