सर्पले डसेका बिरामीहरु बढ्दै

everest kitchen
फोटो फाइल

महोत्तरी। प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् ।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा साहले बताए । पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने ठाउँमा पानी भरेको र सर्प लुक्ने झारीसमेत ओसिलो भएको कारण सर्प गाउँ बस्तीमा पस्ने गरेको पाइएको छ । त्यही क्रममा कुनै प्रकारले सर्पलाई मानिसबाट नोक्सानी भएको पाइएमा वा नजानेर पनि सर्पलाई छुन गएको खण्डमा सर्पले टोक्ने गरेको डा साहले बताए ।

डा साहले अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्पले डसेकोे तथा केही मात्रै विषालु सर्पले डसेकोे बिरामी आउने गरेको बताए । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् ।