मेलम्ची र इन्द्रावतीको बाढीको बितण्ड अब दोहोरिन नदिन स्थानिय सरकार रहनैपर्छ – महेश के.सी.

everest kitchen

महेश के.सी.
भूकम्पको जोखिम क्षेत्रमा पर्ने नेपालमा जहा स-साना भुकम्प र पराकम्प आइरहेका हुन्छन र यस्तो प्राकृतिक गतिविधिले भौगर्भिक बनावट नै कमजोर बनाएको हुन्छ l सिन्धुपाल्चोक जिल्ला बिगतको महाभूकम्पले थिग्थल्लो भए पछि पनि यसले पटक पटक विनाशको सामना गरी राखेको अवस्था छ l यस्तो जोखिमयुक्त क्षेत्रमा एक बर्ष नपुग्दै मेलम्ची र इन्द्रावतीको अर्को भयङ्कर बाढीको बितण्डाको सामना गर्नु परेको छ l

हामी मानबले गर्नु पर्ने प्रकृतिको संरक्षण र प्राकृतिक स्रोतको सदुउपयोग बिज्ञानमा आधारित भएर बिशेष सावधानी पुर्बक गर्नुपर्ने हुन्छ l वाताबरण असन्तुलन भएर हुने परिणाममा हामी मानब नै दोषी छौ, तसर्थ एक प्रकारले भन्नु पर्दा यो विपद दैबी मात्र नभई मानब सृजित हो l झन स्थानिय स्तरमा हाम्रो कमजोरी र हेलचक्र्याईबाट गराइएको पहिरो र भूक्षयले पनि यस्तो विनाशलाई मलजल गरेको हुन सक्छ l तर यसको मतलब त्यहाँ स्थानिय स्तरमा भएको कमजोरीले मात्रै यो घटना भएको भन्न चाही मिल्दैन l

क्यानडामा रहेको एउटा नदि बाँया र बनेपा स्थित चंदेश्वारी नदि दाँया

एक चोटी अन्य बिकसित मुलुकको प्रकृति संरक्षण र स्रोत उपयोगको अभ्यास नियालौ:

सुक्ष्म र ठुला जीवहरु र बनस्पति वा सजिब जिवात्मा र निर्जीव बस्तुहरु डुङ्गा, माटो, जल सुर्य आदिको अन्तर सम्बन्ध हुन्छ र त्यहि व्यवस्था वा तन्त्र नै इकोसिष्टम वा पारिस्थितिक व्यवस्था हो l कुनै एकको कमि वा बढी भयो भने वातावरणमा असन्तुलन आउछ l यहि विज्ञानलाई बुझेर बिकसित पश्चिमी देशहरुमा प्रकृतिलाई भरपुर जगेर्ना गरेको देखिन्छ l ति देशहरुमा माटो भएको सतहमा घाँसपातले नढाकिएको १ वर्ग मिटरको खाली जग्गा देख्न मुस्किल छ l

कृषि तथा पशुपालनमा लागेका कृषक देखि माटो खानजोत गर्ने सुकैलाई नियमले बाँधेको र नियमन निकायहरुले निगरानी गरेको देखिन्छ l वन र चरिचरन क्षेत्रमा आफ्ना पशुहरुलाई कति सम्म चरिचराउ गर्ने भन्ने माप दण्ड छ, र कस्तो कस्तो बैज्ञानिक पद्दति अपनाउने भन्ने योजना हुन्छ l त्यस्तै कुनै पनि प्रकारको बिषादी प्रयोग गर्दा निकै नियम पालना गर्नु पर्ने हुन्छ र प्रयोग नै गर्नु पर्ने भएपनि सम्बन्धित बिशेषज्ञको सिफारिस हुनै पर्छ l चरिचरन क्षेत्र र खोला र खोल्साको इकोसिष्टमलाई ख्याल गरिएको हुन्छ ल

स्थानीय जातको माछा लगाएत केहि जलमा सुक्ष्म जीवहरुले इकोसिष्टममा खलल भएको वा नभएको संकेत गर्दछ र ति जीव अनुपस्थिति हुनु भनेको इकोसिष्टम नचलेको बुझिन्छ, र सुधारको लागि नियमन निकायले के के गर्ने हो समय सिमा सहित सम्बन्धित व्यक्ति वा कम्पनिको जिम्मा दिइन्छ l नयाँ शहर भित्रका खोला र खोल्साको दायाँ बायाँका किनारहरुमा कमसेकम १० मिटरको भागलाई जोगाएर यस क्षेत्रको इकोसिष्टम वा पारिस्थितिक व्यवस्था वा जगत जोगाइएको हुन्छ l

खेलाचिमा आगोले भयङ्कर क्षति पुर्याउन सक्छ l यसो भएको हुनाले यसको निगरानी कडा हुन्छ, तसर्थ घर बाहिर आगो बाल्न दिइन्न र पिकनिक गर्ने ठाउमा पनि तोकिएको ठाउमा तोकिएको समय भित्र गर्नु पर्ने हुन्छ l खोला र यसको किनारमा फोहर फाल्न निषेध छ l दण्ड कडा छ l प्राकृतिक स्रोत जस्तै पानी को उपयोग गर्न वा इनार खन्न र पोखरी बनाउन पनि अनुमति पत्र लिनु पर्दछ l अनुमति लिनु पर्दा पुरा प्रक्रिया अपनाएर जानु पर्ने हुन्छ l त्यस्तै गरी जैविक बिबिधताको प्रबर्दन र संरक्षण गरिएको हुन्छ भने पार्कहरुमा सिमेन्ट प्रयोग गरेर निर्माण गर्ने कार्यलाई निरुत्साहित गरिएको हुन्छ l

त्यस्तै बिना योजना वा प्लन्निङ्ग कुनै पनि निर्माण कार्य गर्न दिइन्न र त्यो योजनामा सम्बन्धित स्थानिय सरकारले गरेको भू-उपयोगको नीति र मापदण्ड अनुरुप हुनुपर्छ भने निर्माण कम्पनीले कुनै पनि निर्माण कार्य गर्दा र गरिसकेपछि उक्त ठाउ जस्ताको तस्तै बनाउनु पर्छ l मतलब सम्बन्धित कम्पनि वा व्यक्तिले बिज्ञानिक ढंगले तोकिएको प्रक्रिया पुर्याएर माटो अडिने र नबग्ने बनाईदिनु पर्छ र बनस्पति हुर्कने ठाउ भए त्यो ठाउमा उमारेर र हुर्काएर मात्रै छोड्नु पर्छ l यसरी सबै किसिमका इकोसिष्टमहरु जस्तै खोला र खोल्सा, चौर, पोखरी, खेत-वारी, सिमसार क्षेत्र, वन आदिको कडाइका साथ जगेर्ना गरिएको हुन्छ l

हाम्रो देशको हबिगत हेर्दा :

अब हाम्रो देश प्रकृतिको संरक्षणमा कति पछाडी छ, प्रष्ट छ l कत्ति पनि भएको देखिन्न l उदाहरणको लागि मुहान सफा गर्नु पर्नेमा बागमतीको खोलाको किनार मासेर बाटो बनाइएको छ l हामीमा बाटो भनेकै विकास हो भन्ने बुझाई छ l खोलाको पानीमा प्लाष्टिक, मलमुत्र र बिषालु रसायनिक पदार्थ बग्छन l पानीमा हुनु पर्ने जीवजन्तु शुन्य छन l खोलाको किनारमा वा छेउछाउमा तिन वा चार तहको स्थानिय बनस्पति (जस्तै रुख, बुटा, घासपात, र झार) हुनु पर्थ्यो त्यो प्राय छैनन् l चराचुरुङ्गी किरा फट्यांग्रा आदि केहि छैनन् l यसको मतलब इकोसिष्टम पुरै नष्ट छ l इकोसिष्टम कत्ति पनि संचालनमा छैन l

अब यसको मतलब यस्ता मानब कार्यकलापले नदेखिने गरी प्रकृतिलाई क्षति पुर्याउनु हो, जसले जलबायु परिवर्तन गराएको छ, अनि त्यो परिवर्तनले अतिवृष्टि, अनावृष्टि, रोगकिराको प्रकोप आदि भएको छ l यसरी वाताबरण बिग्रनुले विश्व जलवायुमा असर पर्छ l यसै कारणले कुनै ठाउको बिनाशलाई अन्तराष्ट्रिय समुदायको चासो हुने गर्दछ, र तव परेमा तिनले सुधारको लागि आर्थिक लगानी गर्ने गर्दछन l

मेलम्ची र इन्द्रावतीको सन्दर्भमा बिना तयारीका बाबजुद स्थानिय स्तरमा अत्यधिक बर्षाले गराएको बाढी पश्चातको उद्दार ठिकै ढंगबाट भएको देखिन्छ l तर पनि वर्षा अगाडी नै हुनु पर्ने पुर्व तयारीमा हुन नसक्नु र क्षति न्युनिकरणमा ध्यान दिन अनुसन्धान जरुरी देखिन्छ l यस लगाएत पुनर्बास र पुनर्स्थापनको व्यवस्था गर्ने जटिल कार्य पनि बाँकि छ l

अब भबिष्यमा अबलम्बन गर्नुपर्ने रणनीतिक कार्यहरु:

दुरदृष्टिका साथ अन्य बिकसित मुलुकमा जसरी प्रकृतिको संरक्षण र प्राकृतिक स्रोतको उपयोग बिज्ञानलाई आधार मानेर गरिएका छन त्यसरी हामी कहाँ हुन सकेका छैनन् l यसमा नीति निर्माण र कार्यान्वयनको कुरा हुन्छ l ति मुलुकमा भएका सबै कार्य हामीलाई गर्न चुनौती हुने भएकोले जति गर्न सकिन्छ हामीले क्रमिक रुपले गर्दै जानु पर्दछ l

त्यस्तैगरी विपद ब्यबस्थापनको कार्य तर्फ भविष्यमा हुन सक्ने प्रकोपको रोकथाम र भएमा प्रभाबकारी ढंगले सामना कसरी गर्ने त भन्ने कुरामा स्थानिय सरकारले बिशेष चासो राखेर नीति निर्माण र रणनीति बनाउनु बुद्दिमानी हुन्छ l बिगतमा सम्बन्धित निकायहरुबाट भूक्षयको संबेदनशील क्षेत्रको लेखाजोखा र अनुगमन नहुनु कमजोरी भयो l यदि जोखिम थाहा भएको भए केहि रोकथामको उपाय लाग्थ्यो होला वा नलाग्ने र ढिलो भै सकेको भएपनि मानबिय क्षति हुनबाट रोक्न सकिन्थ्यो l अब स्थानिय सरकारहरुले भविष्यमा कदापि यो कमजोरी हुन दिनु हुँदैन l

जल मापन गर्ने ब्यबस्था र सम्भाव्य खतराबारे बारे सूचना प्रबाह गर्ने प्रणाली स्थापना बारे अब ढिलो गर्नु हुँदैन l त्यसो व्यवस्था पहिले नै भैदिएको भए हेलम्बुमा भएको निरन्तरको बर्षा र उक्त बर्षाले गराएको कटान र पहिरो बारे त्यहाको स्थानियले जानकारी गराउदा तल मेलम्ची र नयाँ निकटबर्ती क्षेत्रमा प्रभावकारी ढंगले क्षति न्युनिकरण गर्न सकिन्थ्यो l तसर्थ भविष्यमा यसलाई ध्यान दिनु राम्रो हुन्छ l

इन्द्रवती र मेलम्चीको उदगम स्थल देखि यस जलाधार क्षेत्र भित्र पर्ने सबै स्थानिय निकायहरु बिचको समन्वयबाट स्थानिय संयन्त्र बनाई जल लगाएत सबै किसिमको विपदको लागि त्यसको लागि पुर्ब तयारी, न्युनिकरण, ब्यबस्थापन र उद्दार गर्ने लगाएत रणनीति तयार गर्नु पर्दछ l

रुख बिरुवाहरुले आफ्नो जरा पुग्न नसकेको ठाउमा ठुला ठुला पहिरो रोक्न सक्दैनन l तर सतहमा माटो खुकुलो हुन नदिन र माटोको सतह भित्र पनि छिर्न नदिई बर्षाको पनि तर्केर बग्न दिन रुख बिरुवाहरु वा बनस्पतिको ठुलो भूमिका हुन्छ l रुख बिरुवाहरुको जराले माटो समातेर र ढाकेर राख्छ, नत माटो हुरी बतासले उडाएर लान सक्छ l मतलब रुख बिरुवाहरुले भूक्षय हुनबाट रोक्छ l अनि अन्य जिवजन्तुलाई खाद्य पूर्ति गर्छ र छहारी प्रदान गर्छ ल

यसर्थ स्थानिय सरकारले आफ्नो आफ्नो क्षेत्र भित्र कुनै पनि नाङ्गा जग्गा जमिनमा हरियालिकरण गर्नु पर्दछ l निजी नै जग्गा भएपनि जग्गाधनीलाई भू-क्षय हुनबाट रोक्न आफ्नो नीति बनाएर जग्गाधनीलाई जिम्बेवार बनाउन सकिन्छ l युवाहरु बैदेशिक रोजगारीमा लागेको हुनाले कृषि पेशामा ह्रास आएबाट खेत बारीमा खाली छोड्ने प्रचलन बढ्न गई भू क्षय बढ्ने जोखिम देखिएकोले यसमा स्थानिय सरकारको चासो हुनु जरुरी देखिन्छ l

अग्ला भुमि वा उँचो खेतीलाई अयोग्य भागहरुमा पुराना बस्तिहरु बसेको देख्दा हाम्रा पुर्खाहरु कति बुद्दिमानी रहेका रहेछन भन्ने कुरा बुझ्न सकिन्छ l तर हामीले यसलाई बुझ्न सकेनौ र जहाँ खेति हुन्छ त्यहाँ र प्राकृतिक खोला विनाश गरेर आधुनिक घरहरु र आबास बनायौ l फलत: त्यसले हामीलाई अहिले विनाशको डिलमा पुर्याइदिएको छ, तसर्थ हामीले त्यो खतरा टार्नको लागि बुद्दिमतापुर्बक आवश्यक कार्य गर्नु पर्ने हुन्छ l चाहे काठमाडौँ उपत्यकामा होस, चाहे बनेपामा होस l त्यस्तै दुर्दशा मेलम्चीमा अहिले देखिएको छ l यो कमजोरीलाई अब सम्बन्धित स्थानिय सरकारले भू उपयोग योजना बनाई कडाईका साथ कार्यान्वयन गरेर सच्याउन ढिला गर्नु हुन्न l त्यस्ता खोला-नालाहरुलाई बिना रोकावट प्राकृतिक रुपले बग्न दिने र बरु त्यसको किनारको दाया बायामा पर्याप्त जमिन छुट्टयाई स्थानिय बनस्पतिहरु झारपात देखि रुखसम्म हुर्कन दिने बातावरण बनाई दुषित बनाउने कार्यबाट रोक्नु पर्दछ l

त्यस्तै गरी सबै प्रकारका बिषादीहरु सम्बन्धि नीति बनाई नियमन गर्नु आवश्यक छ l मानब जिवन सबै जीव-जीवात्मा र निर्जीव बस्तुहरु सित अप्रत्यक्ष अप्रत्यक्ष तवरले जोडिएको हुन्छ l तसर्थ, खोला-नालाको इकोसिष्टम भनेको एक जगत हो, जुन जगतलाई नष्ट गरेर सडकको किनारमा बिरुवा रोप्नु भनेको अरबौ गुमाएर सय कमाउनु भने जस्तै हो l

हाम्रो देशमा अहिले जताततै डोजरे विकासको उपमा दिएर खिल्ली उडाईरहेको अवस्था छ l हुन पनि यसले गरेको विनाश नेपालको जहाँ सुकै भयाबह छ l यो कुरालाई मध्यनजर गरेर अनुभबी र दक्ष प्रविधिकबाट अध्ययन गराई अन्य सरकारी निकायहरु संग समन्वय गरेर मात्र निर्माण कार्य गर्ने नीति लिईनु पर्दछ l यसका अतिरिक्त कुनै पनि ठाउमा खनजोत तथा निर्माण कार्य गर्दा माटो संरक्षण गर्ने र निर्माण पश्चात माटोले पुरेर हरियाली बनाउने नीति कडाईका साथ कार्यान्वयन गर्नु जरुरी छ l

बन जंगलको आगलागी र डढेलोले असंख्य जीव जन्तुको विनाश र आर्थिक क्षतिका बाबजुद भू-क्षय गराउने हुनाले यस बारे स्थानिय सरकारले पनि यस्तो सम्भाव्य दुर्घटना बारे चासो राख्नु पर्छ l त्यसै गरी प्राकृतिक स्रोतको उपयोगको लागि नियमन गर्नु आवश्यक छ l ढुङ्गा, माटो, र बालुवा निकाल्दा हुने परिणाम भनेकै बिनाश हो, चाहे त्यो बिनास निकट भविष्यमा होस या कालान्तरमा, आखिर बिनाश नै हो l

त्यसैले सबै कुरालाई आर्थिक पाटोबाट मात्रै नहेरी प्रकृतिको संरक्षण गर्दै सन्तुलित र दिगो बिकासमा स्थानिय निकायको ध्यान पुग्नु आवश्यक छ l जस्तै अहिले सम्मको लेख जोखा गर्दा केहि अरबको प्राकृतिक स्रोत मेलम्ची आर्थिक आम्दानी गर्यो होला, तर अहिलेको घटनाबाट खराबौको क्षति र दिर्घकालिन पिडा र असर परेको पनि छ नि l

ती रणनीतिक कार्यलाई संचालन गर्ने कसरी त ?

बातावरण संरक्षण र विपद तयारी तथा ब्यबस्थापनको लागि चाहिने साधन भनेको आर्थिक स्रोत लगाएत, नीति-नियम, ज्ञान-सिप र मानब स्रोत हुन l यी कुरालाई मध्यनजर गरी केन्द्रिय र प्रदेश सरकारहरुको भर नगरी स्थानिय सरकार आफै अग्रसर हुनु राम्रो होला l तसर्थ, हेलम्बु – मेलम्ची जलाधार क्षेत्रमा पर्ने स्थानिय सरकारहरुको समन्वयबाट स्थायी सयन्त्र बनाई प्रकृति वा बातावरण संरक्षण, प्राकृतिक स्रोतको उपयोग, र विपदको सामना गर्नु पर्दाको स्थितिमा अपनाइने नीति बनाई कार्यान्वयन गर्न सकिन्छ l

यसरी बनेको संयन्त्रले अत्याबश्यक अल्पकालिन र दिर्घकालिन कार्यहरु गर्न सक्छ l जस्तै, स्थानिय युवाहरुलाई एकीकृत गरी तिनलाई स्वयसेवकको रुपमा विपदका लागि पुर्व तयारी, विनाश न्युनिकरण, उद्दार र ब्यबस्थापन आदिका बारे आवश्यक तालिम दिने l

त्यति मात्रै हैन, स्थानिय निकायलाई अझ रचनात्मक/सृजनात्मक ढंगबाट युवा र स्थानिय संघ संस्थाकामा सम्बद्ध व्यक्तिहरुलाई लक्षित गरेर बाताबरण संरक्षण, प्राकृतिक स्रोत उपयोग, भू -उपयोग जस्ता बिषयहरुमा चेतना र ज्ञान मुलुक तालिम दिने l त्यसैगरी स्थानिय बिद्यालयहरुमा ति विषयहरुका अतिरिक्त पारिस्थितिक व्यवस्था (इकोसिष्टम), जल बिज्ञान आदिमा आधारभूत तहको औपचारिक तर ब्यबहारिक तवरले शिक्षा दिने व्यवस्था गर्दा अझै उपयोगी हुन्थ्यो कि भन्ने पनि लाग्छ l र जसले गर्दा सिन्धुपाल्चोक यस्ता महत्वपूर्ण बिषयहरुको लागि नेपाल कै उदाहरण बन्न र देशलाई नै डोर्याउन सक्थ्यो पनि होला l

( लेखक क्यानाडामा चरिचरण र बातावरण बिज्ञको रुपम सरकारी सेवामा कार्यरत)