दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्छ : नेता श्रेष्ठ

everest kitchen

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदिमा वेपत्ता भएको भन्दै भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गरेका हुन ।

उनले छानबिन समितिले उक्त घटनामा तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने धारणा राखे । दोषीलाई कारबाहीको माग तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र कूटनीतिक पहलबाट समाधान निकाल्ने प्रयास गर्नुपर्ने उनले बताए ।

श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रपूर्ण सम्बन्ध कायम हुनुपर्नेमा जोड दिएको जिकिर गरे । फरक प्रसंगमा उनले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नभएर सबै राजनीतिक पार्टीहरुपनि जिम्मेवार रहेको बताए ।

त्यस्तै बैठकमा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा नेपाली नागरिक हराएको विषयमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग किन कुरा नगरेको भनेर प्रश्न गरे ।

भट्टराईले दार्चुला घटना सम्बन्धमा परमादेश सरकारले खुट्टा कमाएको आरोप लगाए । भट्टराईले सरकारले भूमि आयोग खारेज गरेर लाखौं भूमिहीनको सपनामा कुठाराघात गरेको बताए । त्यस्तै उहाले वर्तमान सरकारले जनतामुखी काम गर्ने संकेत नदेखाएको आरोप लगाए ।

बैठकमा कांग्रेसका राष्ट्रिसभा सदस्य अनिता देवकोटाले दार्चुला घटनामा सरकारले निष्पक्ष छानविन गर्नुपर्ने बताए । उनले तुइत तर्नुपर्ने बाध्यात्मक अवस्थाको सदाका लागि अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । अव जनताले कुरा नभइ काम खोजेको भन्दै सरकारले जनताका लागि काम गर्नुपर्ने धारणा राखे ।

उनले कोरोनाको खोप सवै नागरिकलाई दिनका लागि सरकार गम्भीर हुनुपर्ने बताए । त्यसअघि बैठकको शुन्य समयमा राष्ट्रियसभा सदस्यहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।