नेबिको बिस्कुट फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आउँदै

everest kitchen

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन लागेको हो ।

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालीमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ । कम्पनीभित्र प्रज्वलनशील पदार्थ बढी रहेकाले आगलागी नियन्त्रणमा समस्या भएको महानगरीय प्रहरीवृत्त बालाजुका प्रहरी वरिष्ठ उपरीक्षक निर्मल बुढाथोकीले राससलाई जानकारी दिए ।

“बिस्कुट उत्पादन गर्ने कम्पनीमा घ्यु, मैदा, चिनी, प्लाष्टिकजस्ता सामग्री हुँदा आगोले झन् ठूलो रुप लिन पुग्यो, त्यसैले आगो नियन्त्रणमा समस्या परेको हो”, डिएसपी बुढाथोकीले बताए । आगलागी शुरु भएपछि बालाजु वृत्तको प्रहरी टोली बिहान २ः२० बजेदेखि नियन्त्रणमा खटिएको छ ।

आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका नौ दमकल प्रयोग गरिएका छन् । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरिरहेका छन् ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालीमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालीले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको जनाएको छ। ।

आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले केकति क्षति भयो भन्नेबारे यकीन तथ्याङ्क निकाल्न नसकिएको जनाएको छ । आगो तिनतिरबाट नियन्त्रणमा लिने प्रयास भइरहेको छ । तीन सय भन्दाबढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि केकति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन ।rss