उज्यालो रुकुमको बत्ती मुनीको अध्यारो गाउँ

everest kitchen

रुकुम । रुकुम (पश्चिम)लाई उज्यालो रुकुम बनाउने अभियान अन्तर्गत दर्जनौं लघु जलविद्युतमा अर्बौं लगानी गर्न थालिएको करिब आधा दशक नै भयो भने त्यसमा पनि केन्द्रीय प्रसारण लाईनले समेत छोएको करिब ३ वर्ष बढी भयो । तर अझै पनि रुकुम पश्चिमका करिब आधाजती गाउँमा विद्युतको पहुँच छैन । पहुँचमा पुगेका गाउँ पनि दैनिक तथा महिनौ सम्म अन्धकारमा रहन्छन् ।

त्यस्तै, जिल्लाको त्रिवेणी गाउँपालिकाको केन्द्र खारानेटामा रहेको विद्युतको ट्रान्सर्फमर दैनिक जसो समस्या हुदा बर्षौ देखि स्थानीयले सास्ती बेहोरी रहेका छन् । स्थानीयका अनुसार खारानेटा ट्रान्सर्फमरमा दैनिक जसो समस्या हुने नभए हप्तामा तीनपटक त अनिवार्य समस्या उत्पन्न भएर विद्युत अवरुद्ध हुदै आएको गुनासो गरेका छन् ।

स्थानीय एक दिपा ओलीका अनुसार “उक्त खारानेटा ट्रान्सर्फमरमा मात्रै अत्याधिक समस्या हुदा दैनिक जसो विद्युत् अवरुद्ध हुदै आएको छ । नजिकै दक्षिण तिरको झुल्नेटा बजारमा र उत्तर तिरको सिम्रुतु बजारमा राम्रो क्षमताको ट्रान्सर्फमर राखिएकोले विद्युत आएको खण्डमा निरन्तर बिजुली बलेपनि यो बिचको गाउँलाई भने हेपिएको उनले बताइन् । सरदर दैनिक ५/६ घण्टा पनि विद्युत आउदैन, यसले गर्दा विद्युत नभएको जस्तै लाग्छ, उनले भनिन् ।

उक्त ट्रान्सर्फमरबाट गाउँपालिका अस्पताल तथा हालको कोभिड-१९ आईसोलेसन सेन्टर, गाउँपालिकाको कार्यालय, हाल नरसिंह दल गण रहेको खारा व्यारेक, त्रिवेणी गाउँपालिका-३ र ६ का अधिकांस गाउँहरु जोडिएका छन् । विद्युत नियमित नहुदा गाउँपालिका अस्पताल र गाउँपालिकाको कार्यालयमा सौर्य उर्जा तथा जेनेरेटरको प्रयोग गरेर समस्य समाधान भएपनि गाउँवासीको समस्या भने निरन्तर रहदै आएको छ । यद्यपि विद्युत अभावमा कोभिड-१९ आइसोलेसन सेन्टरमा अक्सिजन कन्सन्ट्रेटर सञ्चालनमा समस्या रहदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणको रुकुम पश्चिम कार्यालयबाट उक्त स्थान समेतलाई रेखदेख गर्ने गरी झुल्नेटा बजारमा एकजना कर्मचारी समेत खटाएपनि समस्या भने निरन्तर रहदै आएको छ । एउटै कर्मचारीले गाउँगाउँमा पुगेर लाईनमा देखिएका समस्या समाधान गर्न असहज रहेको बताएको छ ।

विद्युत कार्यालयका एक कर्मचारीका अनुसार खारानेटा ट्रान्सर्फमरबाट धेरै गाउँहरुमा विद्युत वितरण गरिएकोले कुनै एक ठाउँमा समस्या (फल्ट) हुदा सबैलाई असर पर्ने गरेको छ । यसको समाधानको लागि नजिकैको खारा व्यारेक आसपासबाट पनि विद्युत वितरण गर्नुपर्ने देखिएको उनलेे बताए । यद्यपि उक्त समस्या समाधान गर्ने छुट्टै ट्रान्सर्फमर राख्ने बारे भने अझैसम्म विद्युत कार्यालयले कुनै संकेत देखाएको छैन ।