एसएसबीले तुइन काटेपछि व्यासमा खाद्यान्न ढुवानी हुन सकेन

everest kitchen
photo file

दार्चुला। यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो क्षेत्रमा खाद्यान्न अभाव भएको हो ।

यहाँका नागरिक भारतीय बजारमा निर्भर छन् । भारतीय बजारबाट तुइनका माध्यममा दैनिक उपभोग्यलगायत खाद्य सामग्री ढुवानी गर्दै आएकामा एसएसबीले कडाइ गरेपछि ढुवानी हुन नसकेको हो ।

खाद्यान्न ढुवानी हुन नसकेपछि व्यास गाउँपालिकाका वडा नं २, ३, र ४ मा खाद्यान्न अभाव भएको हो । “गाउँको खेतले तीन महिनासमेत खान पुग्दैन्”, मालका स्थानीय कल्यानसिंह धामीले भने “गाउँमा चामल पाउँदैन्, नेपालतिर खच्चड हिँड्नसमेत बाटो छैन्, सुनसेराभन्दा माथिल्लो क्षेत्रमा पहिराका कारण खाद्यान्न लिन सकिएको छैन, पहिरो गएको छ, ठाउँ ठाउँमा भत्किएको छ ।”

खाद्यान्न नहुँदा अहिले स्थानीयवासीले दुई दिन लगाएर नेपालकै बाटो भएर खलङ्गा आउनुपरेको छ । खलङ्गाबाट दुई दिन लगाएर खाद्यान्न ढुवानी गर्नुपरको स्थानीयवासी बताएका छन्।