तालिवानको पहिलो पत्रकार सम्मेलन: अब सबैको सुरक्षा जिम्मा हाम्रो

everest kitchen

एजेन्सी । अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिद पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् ।

उनलाई पहिलोपटक विश्वले देखेको हो । अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन । मुजाहिदले ​मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘हामी कसैसँग बदलाको भावना राख्ने छैनौँ । हामीलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन । तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ । हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ ।’

मुजाहिदले भने, ‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौँ । हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ । वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई यो भरोसा दिलाउन चाहन्छु कि अफगानिस्तानमा सबै सुरक्षित छन् ।

त्यस्तै, उनले भने, ‘इस्लामी इमिरेट महिलालाई शरियतको हिसाबले अधिकार दिनेछौँ । हाम्रो धर्मअनुसार महिलालाई अधिकार दिइनेछ । उनीहरू शिक्षा, स्वास्थ्य र अलग अलग क्षेत्रमा काम गर्नेछन् । अन्तर्राष्ट्रिय समुदायलाई महिलाको अधिकारलाई लिएर चिन्ता छ । हामी भरोसा दिलाउन चाहन्छौं कि कसैको अधिकार उल्लङ्घन हुनेछैन ।

यस्तै, उनले भने, हामी हाम्रो अर्थ व्यवस्थालाई सशक्त बनाउने छौँ । हामी सबै अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि अपिल गर्ने छौँ । अफगानिस्तानका जनता राम्रो जीवन बिताउन चाहन्छन् । हामी व्यवसायलाई सञ्चालन गर्न दिनेछौँ र सुरक्षाको प्रत्याभूति पनि दिनेछौँ ।

साथै, उनले भने, ‘एकपटक फेरि मिडियालाई भरोसा दिलाउन चाहन्छौँ कि हामी मिडियालाई स्वतन्त्ररुपमा चल्न दिनेछौँ । निजी मिडियालाई पनि हाम्रो फ्रेमवर्क अनुसार काम गर्न दिनेछौँ । इस्लाम हाम्रो देशको अहम् मूल्य हो । मिडियाले यसलाई पनि स्थान दिओस् । मिडिया स्वतन्त्र रहनेछन् । मिडियाले हाम्रो आलोचना गरे हामी अझै राम्रो भएर काम गर्न सक्ने छौँ ।