नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो

everest kitchen

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसक्नुुभएको जानकारी दिए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित भएनन । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरे । अरू दुुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए ।

आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुुगेका थिए ।

निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भने, “दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।”

केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गर्नुुभएको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेका छन्।