एक साताभित्र सबै सरकारी सम्पत्ति बुझाउन तालिबानको निर्देशन

everest kitchen

एजेन्सी । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा गरेको ट्विटमा सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको छ ।

यसअघि तालिबानले सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको थियो । पछिल्लो समय आम स्वास्थ्य सेवामा देखिएको असरलाई ध्यानमा राख्दै महिलालाई काममा फर्किन आग्रह गरेको तालिबानले जनाएको छ ।

साथै, अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएकोे तालिवान समूहले बताएको छ ।

तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिवान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको हो ।