कलाकार निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार आएन, ५० लाख माथि उपचार खर्च

everest kitchen

 

काठमाडौ। उद्धार गरिएको तीन महिनासम्म पनि घिमिरेको मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक अस्पतालले जनाएको छ ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर उद्धार गरिएको तीन महिनासम्ममा घिमिरेको उपचारमा ५० लाखभन्दा धेरै खर्च भइसकेको र अस्पतालमा उपलब्ध सबै प्रविधि, सिप र विधिको प्रयोग गरी उपचार गरे पनि स्वास्थ्य अवस्था स्थिर रुपमा रहेको जनाएको छ ।

घिमिरेको उपचारमा संलग्न डाक्टर पंकज जलानका अनुसार दुर्घटनाका कारण उनलाई ब्रेन इन्जुरी भई अवस्था जटिल भएकाले अब पूर्ण रुपमा सामान्य हुने सम्भावना छैन । लामो समय उपचारविहीन अवस्थामा बसेकाले अहिले आएर कोसिस गरिएपनि अपेक्षित रुपमा घिमिरेको स्वास्थ सुधार हुन नसकेको डाक्टर जलानले बताए ।

त्यसैगरी नर्भिक अस्पतालकी प्रबन्ध सञ्चालक मेघा चौधरीले पनि स्वास्थ अवस्था यस्तै रहने हो भने घिमिरेलाइ राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको बतइन् । र, त्यस विषयमा पनि आफूले सोचिरहेको विज्ञप्तीमा उल्लेख गरेकी छन् ।

फिल्म पढ्न भारत गएकी घिमिरे देहरादूनमा सडक दुर्घटनामा परी घाइते भएकी थिइन् । सुरुवातमा भारतमै उपचार गरिएपनि आर्थिक रुपमा उपचार खर्च धेरै पर्ने देखिएपछि बाबुआमाले उनलाई नेपालमै ल्याएका थिए ।

नेपालमा पनि तीन महिना ट्रमा सेन्टरमा उपचार गरिएपनि उनको स्वास्थमा सुधार नआएपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न थेरापी सेन्टरहरूमा लगातार थेरापी गरिएको थियो । त्यसपछि भने कोरोना महामारी शुरु भयो र परिवारलाई थेरापी खर्च जुटाउन समेत मुस्किल पर्न थाल्यो जसका कारण केही समय घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् ।

जेठ २७ गतेका दिन केहि समाजसेवकिो सहयोगमा मेघा चौधरीले निशा घिमिरेको उद्धार गरेकी थिइन् । जतिबेला घिमिरेको शरीरको तौत २० केजी मात्रै थियो । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च पनि चौधरीले नै व्यहोर्दै आएकी छिन् ।