मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

everest kitchen
photo file

काठमाडौ। ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिवानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।

महाशाखाले बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिमाना तिर्न बैंकमै जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सवारी नियम उल्लंघन गरेका चालकले अब क्यूआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिए ।

यो सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजलजस्तो देखिन्छ । क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता, बैंकको खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।

पछिल्लो समयमा स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेको छ । यसले यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ ।

यस्तै, ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउनेविरुद्ध रातको समयमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा तीव्र गतिमा सवारीसाधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्ने भन्दै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो ।

महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा सो अभियान थालिएको आजको राजधानी दैनिकमा खवर छ ।