नगरकोटमा गोरुको मासु ओसार्ने पाँचजना प्रहरी नियन्त्रणमा

everest kitchen
photo file/beef

काठमाडौँ। काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा बुधबार बेलुकी नै महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मासु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो ।

धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मासु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो । गोरु काट्ने, मासु ओसार्ने र त्यसमा प्रयोग भएको स्कुटी पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

ठूलाठूला दुई गोरु काटेर मासु नगरकोट लैजाने व्यक्तिसहित त्यस घटनामा संलग्नलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् बताएको छ।

घोक्साङका स्थानीयवासी तीनै जनालाई जिल्ला अदालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले राससलाई जानकारी दिए ।

यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको असहाय गाई बाच्छा संरक्षण स्थलमा आश्रित गोरु काटेर टाउको गाडी मासु बेचेको अवस्थामा भेटिएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानले यस विषयमा अनुसन्धानका लागि नगरपालिका र प्रहरीमा उजुरी गरेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।