पर्वातका सर्वजित १६ वर्षदेखि मलेसियामा बेपत्ता

everest kitchen

 

पर्वत। रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।

विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन् ।

राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताईन । उनले भनिन, “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छाँै ।” विष्णुमायाले भक्कानिँदै भनिन ।

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ थियो । अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत्विपत् परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताईन ।

१६ वर्षअघि काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए । चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ ।

सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उनले बताए । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् ।