आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

everest kitchen

काठमाडौँ। न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही असोज १५ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् ।

साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।