कांग्रेसको पालिका स्तरीय अधिवेशन प्रारम्भ

everest kitchen

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुृँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ ।

सङ्घीय राजधानी काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण यहाँको पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ । काठमाडौैँको वडा अधिवेशन असोज ५ गते सुरु भएको थियो ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।