खाेटाङका १० तहमध्ये ९ मा कांग्रेसकाे नेतृत्व चयन

everest kitchen

खोटांग,न्युज कारखाना । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई कांग्रेसको नगरसभापतिमा निर्वाचित भएका छन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट राई नगरसभापति निर्वाचित भएका हुन् ।

शनिबार राति घोषित मत परिणामअनुसार राईको प्यानल विजयी भएको कांग्रेसले जनाएको छ । उनको प्यानलबाट उपसभापतिमा काशिराज राई र देवेन्द्र राई, सचिवमा कमल गिरी र किशोरकुमार बस्नेत, सह–सचिवमा खेमराज कार्की र युवराज कार्की विजयी भएका छन् । यस्तै, केपिलासगढी गाउँपालिकामा हेमन्त राई गाउँपालिका सभापतिमा निर्वाचित भएको कांग्रेसले जनाएको छ । केपिलासगढीको मत परिणाम पनि शनिबार राति सार्वजनिक भएको हो ।

यस्तै, चुनावी प्रकृयाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रकाश श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र विष्ट र खोटेहाङ गाउँपालिकामा प्रेम थापा पालिका सभापतिमा विजयी भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा पालिका सभापति लगायत चयन गरिएको छ ।

ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकाका दिपक राई (खिलाराज), रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ट र साकेला गाउँपालिकाका बिजय गुरुङ (भलाकाजी) सभापति चुनिएका हुन् ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको अधिवेशन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडाअधिवेशनको विषयलाई लिएर आइतबार बिहान १० बजेदेखि अधिवेशन सुरु गर्ने सहमति भएको कांग्रेसले जनाएको छ ।