कर्णालीका मुख्यमन्त्रीकाे गलामा एक लाख माला

everest kitchen

सुर्खेत। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकाेप्टरका शाैखिन छन् । उनी कहिले हेलिकाेप्टर चार्टर गरेर मुगु,कालिकाेट, जुम्ला हुम्ला पुग्छन् त कहिले डाेल्पा ।

०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकाेप्टर चार्टर गरेर मुख्यमन्त्री शाहीले १० लाख सकेपछि महालेखा परीक्षककाे कार्यालयले लेखा परीक्षणमा प्रश्न उठाएकाे थियाे ।

तर, उनै मुख्यमन्त्री फेरि हेलिकाेप्टर चढेर शनिबार डाेल्पा पुगे । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितलाई लिएर हिँडेका मुख्यमन्त्री शाहीले चार लाखकाे हवाइ इन्धन खर्चेका छन् । इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेकाे छ ।

उनकाे याे भ्रमणमा अर्काे अनाैँठाे दृष्य देखियो । गलामा मालाकाे भारी । शाही र बुढासँगै खर्चे बेहाेर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाकाे गलामा ४०/४० किलाेकाे १ लाख मूल्यकाे माला थियाे ।

हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च खर्च भएको गाउँपालिका स्राेतले जानकारी दिएकाे छ । जसमा श्रमिककाे ज्याला पनि जाेडिएकाे छ ।

शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका-६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए ।

१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए । ‘कक्षा पाँचसम्म विद्यालयमा नै बसेर बढ्न पाउने छन्,’ उनले भने, ‘यो विद्यालय गाउँपालिकाको नमूना विद्यालय पनि हो ।’

गाउँपालिकाको प्रशासनिक भवनको पनि उदघाटन गरेका छन् । गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार खर्च भएको अधिकृत जैसीले बताए ।

४० किलाेको माला लगाएको विषयमा सामाजिक सञ्जालमा शाही,बुढा र रोकायामाथि टिप्पणी भइरहेकाे छ ।न्युजकारखाना