यी हुन् कर्णालीमा कुहिएको चामल पठाउने कर्मचारी

everest kitchen

रमेश रावल
सुर्खेत। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित प्रादेशिक कार्यालयलाई कर्णालीमा बिक्री वितरण गर्नेगरी १५ साउनदेखि १५ भदौको बीचमा बास्मती चामल पठायो । उक्त चामल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खानयोग्य नभएको पुष्टि गर्दै नष्ट गर्ने निर्देशन दिएको थियो ।

नष्ट गर्न विभागले निर्देशन दिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र बिक्री वितरण शाखाका विभागीय प्रमुख भीमबहादुर थापा र अन्य विभागीय प्रमुखको निर्देशनमा ‘रि–पोलिसिङ’ गरि चामल सुर्खेत पठाएका थिए ।

काठमाडौं कार्यालयबाट पठाएको चामल प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले ‘रिसिभ’ गरेका थिए । सुर्खेत आइपुगेको केही चामल कार्यालयमार्फत बिक्री समेत भइसकेको छ ।

कर्णालीमा पटकपटक किन पुग्छ कुहिएको चामल ?

कर्णालीमा यसअघि पनि पटकपटक यस्तै खालका चामल आइपुग्ने गरेका उदाहरण छन् । केन्द्रले पठाएको चामल प्रादेशिक कार्यालयले बिना चेकजाँच गाउँगाउँमा पठाउँदा कर्णालीबासी पीडित बन्ने गरेका छन् । प्रादेशिकका प्रमुख माधव मिश्र केन्द्रीय कार्यालयबाट आएको चामल चेकजाँच भएर नै आउने भएकाले शंका नगर्ने गरेको बताउँछन् ।

पहिलो पटक बास्मती चामल

कम्पनीले यसअघि कर्णालीका नौ जिल्लामा धनगढी, लहानलगायत स्थानबाट मोटा, अरुवा चामल पठाउँदै आएको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंबाट सुर्खेतमा १५ साउनदेखि १५ भदौको बीचमा २ हजार २ सय क्विन्टल बास्मती चामल पठायो ।

काठमाडौंबाट पहिलोपटक बास्मती चामल कर्णाली पठाएको हो । खाद्य कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा शाखा प्रमुख विनोद पौडेलले भने, ‘पहिलोपटक कर्णालीमा बास्मती चामल आएपनि विवादमुक्त भएन । यो चामल २० किलोको बोरामा छ ।

’ उनका अनुसार सुर्खेत कार्यालयबाट हालसम्म एक सय १० रुपैयाँ प्रतिकिलोका दरले १५ क्विन्टल जति चामल बिक्री पनि भइसकेको छ । कर्मचारीकै मिलेमतोमा कर्णालीका कुहिएको चामल पठाएर सरकारले नागरिकको जीवनमाथि खेलबाड गरेको उपभोक्ता हित संरक्षण समितिका प्रदेश कोषाध्यक्ष विन्दुलाल रेग्मीले आरोप लगाए । ‘यो नागरिकको जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हो,’ उनले भने, ‘राज्यको जिम्मेवार निकायबाट नागरिकमाथि यस्तो खेलबाँड गर्नु अपराध हो ।’