गाउँपालिका अध्यक्ष मल्लको पहलमा हेलिकप्टर मार्फत बिरामीको उद्वार

everest kitchen

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट क्षेत्र खैराङमा रुखबाट खसेका एक बिरामीको २४ घन्टापछि उद्धार भएको छ । सोही गाउँपालिका अध्यक्ष राजकुमार मल्लको पहलमा बिरामीको उद्धार भएको हो

गाउँपालिका अध्यक्ष मल्लको पहलमा हेलिकप्टर चार्टर गरि रुखबाट खसेर मृत्युसँग लडिरहेका एकजनाको उद्धार गरि उपचारका लागि काठमाडौं पठाइएको हो । राक्सिराङ ९ का केदार सिंह थिङ आइतबार बिहान रुखबाट लडेर ढाड भाँचिएको बताइएको छ ।

विकट ठाउँ र यातायात सुविधा नभएपछि उनलाई उपचारका लागि समयमा अस्पताल पुर्याउन नसकिएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

घटनाबारे आफुले पनि ढिलो जानकारी पाएकाले उद्धार गर्न समय लागेको उनले बताए । खोला भीर पाखाको बाटोले गर्दा समयमै बिरामी ल्याउन सकिएन, अर्को कुरा हामीलाई जानकारी पनि ढिला भयो’ – उनले भने – ‘बोक्न खोज्दा दुखेर बिष माग्ने, मारिदिनु भन्ने गर्दा रहेछन् ।’ जानकारी पाउनासाथ तत्काल हेलिकप्टर चार्टर गरि काठमाडौं टिचिङ अस्पताल पठाइएको उनले बताए ।

हेलिकप्टरलाई लाग्ने खर्च केही गाउँपालिकाले व्यवस्था गर्ने र केहि व्यक्तिगत रुपमा सहयोग गरिएको उनले बताए थिङ आइतबार बिहान ७ बजेतिर रुखबाट खसेको बुझिएको छ । उनी भौगोलिक विकटताका कारण अस्पताल पुर्याउन नसकेपछि २४ घन्टासम्म बिना उपचार छटपटिएर बस्न बाध्य बनेका थिए ।