सुर्खेतमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

everest kitchen

सुर्खेत। सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई परिचयपत्र दिने भएको हो ।

दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा सुर्खेतका ५६ व्यक्ति बेपत्ता भएको तथ्याङ्क छ । पीडितपरिवारलाई परिचयपत्र प्रदान गर्न आयोगका सदस्य विश्वप्रकाश भण्डारी नेतृत्वको टोली सुर्खेत आउँदैछ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको सूचीमा नाम समावेश भएका पीडितपरिवारलाई परिचयपत्र वितरण गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्रीशम्शेर रानाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले परिचयपत्र लिन सूचित गर्दै बेपत्ता पारिएका व्यक्ति, उनीहरुका बाबुआमाको नाम, ठेगाना, बेपत्ता पारिएको स्थान र मितिसहितको विवरण सार्वजनिक गरेको छ ।