पोल भाडा नतिर्ने इन्टरनेट प्रदायकको विद्युत प्राधिकरणले तार काट्यो

everest kitchen

चितवन । चितवनमा बिजुलीको पोल भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबारदेखि तार काट्न सुरु गरेको हो ।

प्राधिकरणले १५ असोजभित्र पोल भाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थालाई समय दिएको थियो ।

उक्त समयसीमाभित्र पनि ठूला इन्टरनेट सेवा प्रदायकले अटेरी गरेकाले उनीहरुको तार काट्न सुरु गरिएको भरतपुर वितरण केन्द्रले जनाएको छ ।

भोजाडस्थित १३२ केभी सवस्टेशनबाट निकालिएका तारहरु वितरण केन्द्रको प्रमुखसहितका कर्मचारीले काटेका हुन् । प्रसारण लाइनका टावर हुँदै ल्याएका इन्टरनेटका तार १३२ केभी सवस्टेशनभित्र स्टेशन बनाएर राखिएको छ ।

सवस्टेशनबाट निकालेर पोलमार्फत इन्टरनेट विक्री गर्ने गरिन्छ । सेवा प्रदायकले टावरको भाडा नियमित तिरिरहेको भए पनि पोल भाडा भने तिरेका छैनन् ।

नेपाल टेलिकम र एनसेलबाहेकका इन्टरेनटका तारहरु काटिएको बताएको छ । जसले गर्दा जिल्लामा सुविसु, भायनेट, क्लासिक टेक लगायतका ठूला इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएका छन् ।