२० वर्षको उमेरमा घर छाडेका गंगाबहादुर ५५ वर्षपछि घर फर्किए, कस्तो अवस्थामा थिए ?

everest kitchen

साजन परियार, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका गंगबहादुर गुरुङ हराएको ५५ वर्षपछि घर फर्किएका छन् ।

बि.सं. २०२३ मा २० वर्षको उमेरमा घर छाडेका ७५ वर्षीय गुरुङ घर फर्किएपछि परिवार र आफन्तमा खुसीयाली छाएको छ । कैलालीको चुरे गाउँपालिका–३ मत्स्य भन्ने ठाउँमा बस्दै आएका गुरुङलाई भतिज शेरबहादुरले मंगलबार जन्मथलोमा ल्याएर आएका हुन् ।

सामाजिक सञ्जाल ‘फेसबुक’मा ठूलो बुवाको तस्बिर देखेपछि करिब दुई महिनाको प्रयासपछि पहिचान गरेर घर ल्याएको शेरबहादुरले बताए । ‘फेसबुकमा तस्बिर देखेपछि हराएका ठुलोबुवालाई पहिचान गरेर ल्याएर आएको हो,’ शेरबहादुरले भने, ‘हामी नजन्मँदै घर छाडेर जानुभएका ठुलोबुवालाई जीवितै भेटाउँदा खुसी छौ ।’

भरिया काम गर्ने क्रममा बुटवल पुगेका जंगबहादुरको पूर्व–पश्चिम राजमार्ग निर्माण कार्यमा मजदुरको रूपमा काम गर्दै डडेलधुरासम्म पुगेका थिए । डडेलधुराको पहाडमा सडक निर्माण गर्दा गुरुङले विस्फोट गराउने बलास्टरको काम गरेका थिए । उनी सानै देखि डकर्मी पेसामा सिपालु थिए ।

‘सडक आयोजनाको काम सकिएपछि अलपत्र परेका थिए । यस क्षेत्रको एक्लो भएकाले त्यतिबेला घर फर्कने मेसो आएन,’ उनले भने, ‘कैलालीका नरबहादुर शाहीका परिवारले संरक्षण गरेर राख्नुभयो ।’ अत्तरियामा व्यवसाय गर्दै आएका शाही परिवारले गुरुङलाई पहाडको घर र खेतबारीको संरक्षण गर्ने जिम्मेवारी दिएका थिए ।

त्यसअघि गुरुङलाई सात वर्ष आश्रय दिएका नरबहादुरका आफन्तले नागरिकता समेत दिलाइदिएका थिए । बुढेसकाल लागेपछि आफ्नो घर जाने र आफन्तलाई भेट्ने इच्छा राखेपछि मत्स्य गाउँका चक्रबहादुर खत्रीले गत साउन अन्तिम सातातिर सामाजिक सञ्जालमा गुरुङको तस्बिर र विवरण सार्वजनिक गरेका थिए ।

रेडक्रस सोसाइटीको खोज तथा उद्धार केन्द्रमार्फत म्याग्दीमा गंगबहादुरको परिवार खोजी गरिएको थियो । सम्पर्कमा आएका आफन्त र गंगबहादुरबीच पहिलो चरणमा टेलिफोनमा कुराकानी गराइएको थियो ।

करिब ६० वटा आफन्तको नाम, पारिवारिक पृष्ठभूमि, तत्कालीन गाउँको अवस्था, छिमेकी आदीका बारेमा सोधेको प्रश्नमा जंगबहादुरले दिएको जवाफ मिलेपछि यकिन गरिएको थियो । थामडाडाका स्वर्गीय बलवीर गुरुङका चार भाइ छोरा मध्य गंगबहादुर माइला हुन् ।

नेपाल रेडक्रस सोसाइटीको म्याग्दी र कैलाली शाखाको समन्वयमा गुरुङलाई परिवारमा पुनर्मिलन गराइएको म्याग्दी शाखाका सभापति लेखबहादुर हमालले बताए । ‘यस्तो अनौठो पारिवारिक पुनर्मिलनको घटना बिरलै हुने गर्छ,’ उनले भने, ‘गंगबहादुरलाई कैलाली लिन जान र फर्कंदाको खर्च व्यवस्थापन गरेका छौ ।’

गंगबहादुरलाई मत्स्य गाउँका वडा अध्यक्षलगायत जनप्रतिनिधि र गाउँलेहरूले कार्यालयमै औपचारिक कार्यक्रम गरेर बिदाइ गरेका थिए । मत्स्य गाउँका सबैको घरमा पुगेर बिदाइ भएका गुरुङले अत्तरिया पुगेपछि आफूलाई आश्रय दिने शाही परिवारलाई नभेटी आउन मानेका थिएनन् ।

भतिजले शाही परिवारलाई धन्यवाद दिएर बिदाइ गराएपछि मात्रै बेनी आउन मानेको उनले बताए । गंगबहादुरले विवाह गरेका छैनन् । ठूलोबुवालाई आफ्नै घरमा स्याहार सुसार गरेर पाल्ने शेरबहादुरले बताए ।

रेडक्रस म्याग्दी शाखाका अधिकृत धनञ्जयकुमार श्रेष्ठले रेडक्रसले विभिन्न कारणले हराएका व्यक्तिको खोजी गरे पनि बिरलै घटनामा सफलता मिल्ने र पारिवारिक पुनर्मिलन भएको बताए । रेडक्रसले समयमा सोधखोज गरेकाले गुरुङले जीवनको अन्तिम क्षणमा भए पनि आफन्त र जन्मथलोमा आउन पाएको श्रेष्ठले बताए । /न्युज कारखाना