अधुरै रह्यो नेपालको सपना, प्रशिक्षक अलमुताइरीको वियोगान्त अन्त्य

everest kitchen

काठमाडौं। साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको सपना अधुरै भएको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो ।

यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको आजको खेल वर्षाले प्रभावित बनेको थियो । पहिलो हाफमा दुवै टोलीले आफ्नो स्वभाविक लयमा खेल्न सकिरहेका थिएनन् । पहिलो हाफमा सुजल श्रेष्ठको क्रसलाई नवयुग श्रेष्ठले गोल गर्न नसक्दा नेपालले सुरुवातमा नै गोलको अवसर गुमाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा भारतीय कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाए । पहिलो गोल खाएपछि सम्हालिन नपाउँदै भारतले दोस्रो गोल ग–यो । सुरेश सिंह वाङजमले एक मिनेटपछि नै भारतको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा सहाल अब्दुल समादले अर्को गोल गर्दै भारतलाई सहज जीत दिलाए ।

योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेलमा वियोगान्त अन्त्य भएको छ । यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताएका अलमुताइरी आजको खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाएका थिएनन् ।