चितवनमा माओवादीसँग तालमेल गरे हाम्रा ३२ लाख मतदाता रिसाउँछन्’: गगन थापा

everest kitchen
File photo

काठमाडौं । नेपाली कांग्रेस का नेता गगनकुमार थापाले सर्वोच्च अदालतमा देखिएको विवादबारे नबोलेमा पार्टीले ठूलो क्षति व्यहोर्ने बताएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका कांग्रेसको वडा अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा नेता थापाले यस्तो बताएका हुन्।

‘अदालतको संघर्षमा सत्यको पक्षमा कांग्रेस उभिनु आवश्यक भइसकेको छ। अदालतको न्यायिक नेतृत्वमा आएको विचलनमा कांग्रेसले नबोले ठीक हुँदैन’, थापाले भने, ‘कांग्रेसले अदालतको विषयमा सही ठाउँमा उभिएन भने, सत्यको पक्षमा उभिएन भने लाखौँ मतदाता गुमाउँछ।’

२०७४ सालको स्थानीय निर्वाचनका क्रममा कांग्रेसले कार्यकर्तालाई चितवनमा हँसियामा भोट हाल्न लगाउँदा काठमाडौंका मतदाता गुमाएको पनि थापाले बताए।

‘चितवनको निर्वाचनमा कांग्रेसले हँसिया हथौडा (माओवादीको चुनाव चिन्ह) मा मत हाल्नुपर्छ भन्दा काठमाडौंमा मतदाता गुमायो’, उनले भने, ‘चितवन प्रकरणले कांग्रेसका लाखौँ मतदाता रिसाए। हामीले अब पनि हाम्रा ३२ लाख मतदाता रिसाउने काम गर्नु हुँदैन। अदालतबारे नबोलेमा कांग्रेसले अझै मतदाता गुमाउँछ।’

उनले अबको निर्वाचनमा ३० लाख नयाँ मतदाता थपिने बताउँदै तिनलाई पनि रुखमा भोट हाल्ने बनाउनुपर्नेमा जोड दिए।

‘अब ३० लाख नयाँ मतदाता थपिँदैछन्। ३० लाखबाट ठूलो संख्यामा कांग्रेसलाई मत हाल्ने बनाउनुपर्छ’, उनले भने, ‘हामीले हिजो कांग्रेस छाडेर गएका पुराना मतदाता र नौजवान मतदातालाई कांग्रेस नेतृत्वको अनुहार र फोटो देखाएर मत हाल्नुस् भन्नुछ। बजारमा टोलमा भन्न पाउनुपर्ने नेतृत्व नछाने गाह्रो छ। कांग्रेसले राम्रो नेतृत्व छानेमा १० लाख मतदाता थपिन्छन्।’