सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङ पढाउन पाउने

everest kitchen

काठमाडौँ । सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अध्यक्ष समेत रहेका देवेन्द्र पौडेलको अध्यक्षमा बसेको मापदण्ड पूरा गरेका कलेजलाई मात्रभर्ना खुला गर्ने निर्णय गरेको हो ।

परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए । सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ ।

आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधान अनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए ।

ऐनले नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै एक सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी (स्नातकतह) र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था गरेको छ ।

सीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यीदुई मापदण्ड पूरा गरेका छन् । २४ वटा कलेजमध्ये १७ वटा निजीकलेज हुन् भने ७ वटा सिटीइभिटीका आंगिक कलेज हुन् ।

नयाँ व्यवस्था अनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए करिब एक हजार पाँच सय जनाले पढ्न पाउनेछन् ।

सय बेडको अस्पताल भएका नर्सिङका लागिपनि छिट्टै प्रवेश परीक्षाको सूचना जारी गरिने सीटीईभीटीका सदस्य सचिव काफ्ले जानकारी दिए ।