मुक्तक – लक्ष्मी पोख्रेल

everest kitchen

मुक्तक – लक्ष्मी पोख्रेल

लक्ष्मी पोख्रेल
मुक्तक१
फूलजस्तो अनुभूति तुसारोमा पाइन्न यो।
ढुकढुकिको चालझैं हतारोमा पाइन्न यो।
मनको भाव मनजस्तै बहुमूल्य हुने गर्छ।
करोडको मुस्कान हो, उधारोमा पाइन्न यो।

मुक्तक २
छल्किन थाले रहरका छाल अलिअलि।
परेको छ स्नेह-अनिकाल अलिअलि।
जहिलेदेखि पठाइस्यो आश उपहार।
बिग्रिन पो थालेको छ चाल अलिअलि।

मुक्तक ३
मुटुको चालसंग बाँधिन सकिन्न कहिलेकाहिं।
आफ्नै खुट्टामाथि उभिन सकिन्न कहिलेकाहिं।
ऋतुजस्तै फेरिए भने जीवनका अभिलाषाहरु।
आफैलाई सान्त्वना दिन सकिन्न कहिलेकाहिं।

मुक्तक ४
आँखामा संकोच थिएन मनमा डर थिएन।
मौसम पनि अनुकुल हुने कुनै भर थिएन।
रहरहरु नओइलियुन भन्ने सोंच मात्र हो मेरो।
हुन त मलाई सपना हेर्नु पर्ने कुनै कर थिएन।