हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

everest kitchen

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताए ।

“अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्यो । विद्यालय उद्योग हुनुपर्यो”, मन्त्री शर्माले भने, “एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्यो ।” उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पूँजी निर्माण हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनले बताए । “विद्यालयको पूँजी भनेको सामुदायिक हुन्छ”, उनले भने, “त्यस्तै किसिमको अरू सामुदायिक पूँजी निर्माण गर्ने समूह÷समुदाय बनाउनुपर्छ ।”

मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्नेमा जोड दिए । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउनुहुँदै भने, “अब ठूलो÷मेगा विद्यालय बनाउनुपर्छ र त्यही शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ ।” उनले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रीकृत गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री शर्माले पार्टीले ‘प्रचण्डपथ’ त्यागेर ठूलो गल्ती गरेको बताए । प्रचण्डपथ त्यागेकै कारण पार्टी विचलित र फुटको स्थितिमा पुगेको बताए ।

“शान्ति प्रक्रियामा आउँदै गर्दा प्रचण्डपथलाई निर्णय गरेर हटायौँ”, उनले भने, “त्यो ठूलो गल्ती थियो । मैले त्यतिबेला नै यो गल्ती हुँदैछ भनेको थिएँ ।” प्रचण्डपथले नै त्याग, बलिदान, विचार तथा सङ्गठनलाई केन्द्रीकरण गरेको बताउनुहुँदै उनले त्यो त्याग्नासाथ पार्टीमा विभाजन भएको बताए ।