काङ्ग्रेस महाधिवेशन: ‘अहंकार देखाउनेको ओरालो यात्रा सुरु भएको इतिहास छ’-प्रचण्ड

everest kitchen
photo file

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार देखाउनेहरु ओरालो लाग्ने गरेको इतिहास रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहंकारीहरुको ओरालो यात्रा सुरु भएको इतिहास रहेको बताएका हुन् ।

प्रचण्डले सम्बोधन गर्दा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली पनि मञ्चमै थिए । कांग्रेसले एक्लै अगाडि बढ्ने तर्क राखेको भन्दै प्रचण्डले भने, ‘एक्लै अगाडि बढ्ने होइन, समझदारी गरेर अगाडि जाने हो ।’

‘कांग्रेस र माओवादीको विशिष्ट सम्बन्ध छ । शान्ति प्रक्रिया र परिवर्तनलाई संस्थागत गर्ने कुरामा कांग्रेस र माओवादीको समझदारी आवश्यक छ ।’ प्रचण्डले भने, ‘कांग्रेसले अहंकार र घमण्ड देखाउने होइन, समझदारपूर्ण व्यवहार गर्ने हो ।’

‘जसले अहंकार गर्यो त्यसको ओरालो यात्रा सुरु भयो भन्ने इतिहासले देखाएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘लोकतान्त्रिक दलहरुको बीचमा समझदारी कायम गर्ने र देशलाई सुशासन र विकासको युगमा लैजाने काममा नेपाली कांग्रेसले उचित नीति र नेतृत्व निर्माण गरोस् ।’उज्यालोनेटवर्क