स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ : मन्त्री झाँक्री

everest kitchen

महोत्तरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताएको छ ।

आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री झाँक्रीले स्थानीयतहको प्रयत्नमा सङ्घीय सरकारको साथ रहने उल्लेख गरे । मन्त्री झाँक्रीले मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठको अवलोकन गर्न सँगै भगवान लक्ष्मीनारायणको दर्शन र पूजा, आराधना गरे ।

मटिहानी भ्रमणका क्रममा मन्त्री झाँक्रीले अति पुरानो पुरातात्विक महत्वको लक्ष्मीसागर तलाउको अवलोकन गर्नुभयो । लक्ष्मीसागर अघि त्रेता युगमा रामसीताको विवाहमा वेदि बनाउन माटो खनिएको ठाउँ भएको विश्वास गरिन्छ । मन्त्री झाँक्रीले मटिहानी धार्मिकस्थलका रुपमा परिचित ठाउँ भएको हुँदा यस ठाउँको विकासका लागि धार्मिक पर्यटनभित्रका विविध सम्भावनाको खोजी गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिए ।

“यो मटिहानी त्रेता युगकालीन कथानकसँग जोडिएको पवित्रस्थलका रुपमा परिचित छ”, मन्त्री झाँक्रीले भने, “यो इतिहास र जनविश्वासलाई टेकेर धार्मिक पर्यटन विकासको सम्भावना पहिल्याउनुहोस्, सरकार तपाईहरूका साथमा छ ।” उनले मटिहानीको शहरी विकासका लागि स्थानीय तह र प्रदेश सरकारले पहलकदमी लिनुपर्ने र सङ्घीय सरकारको साथ सहयोग रहने विश्वास दिलाए।

मन्त्री झाँक्रीलाई नगरप्रमुख मण्डलले लक्ष्मीनाराण मठ, लक्ष्मीनारायण मन्दिर र लक्ष्मीसागरको विस्तृत जानकारी गराउँदै आफ्नो नगर संस्कृत शिक्षाको आदि भूमि रहेको बताए।

मटिहानीमा बालगुरु षडानन्दले शिक्षा आर्जन गर्नुभएको मानिने ३०३ वर्ष पुरानो संस्कृत पाठशाला अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाउँमा सञ्चालित छ । सँगै यही नै संस्कृततर्फ स्नातकोत्तरसम्म अध्ययन, अध्यापन हुने महामुनि याज्ञवल्क्य र लक्ष्मीनारायण मठको संयुक्त नाउँमा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)सञ्चालित छ ।

मन्त्री झाँक्रीले धार्मिक पर्यटनको विकास प्रयत्नमा नगरपालिकाले सम्पन्न गरेको अघि बढाएका योजनाको जानकारी लिए । उनीलाई नगरका तर्फबाट नगर प्रमुख मण्डलले दोसल्ला ओढाएर सम्मान गरे । मन्त्री झाँक्रीको भ्रमणटोलीमा शहरी विकास मन्त्रालयका सचिब मणिराम गेलालको पनि उपस्थिति थियो ।