नक्कली नोट कारोबार गरेको आरोपमा दुई भारतीय र नेपाली पक्राउ

everest kitchen

नवलपरासी। नवलपरासी (पश्चिम) प्रहरीले नेपाली र भारतीय नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका –१२ बस्ने रसिद मोहम्मद र कपिलवस्तुको शुद्धोधन गाँउपालिका –२ नन्दपुर बस्ने जमाल मुसलमान रहेका छन् ।

उनीहरुलाई नवलपरासीको रामग्राम नगरपालिका– ५ बुद्धचोकबाट पक्राउ गरिएको र उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतिय ५० को १७ थान नक्कली नोट बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरुविरुद्ध मुद्रा सम्बन्धी (नक्कली नोट) कसुरमा मुद्दा दर्ता गरी नवलपरासी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी दिइएको छ ।