सूर्य गिरीका पाँच मुक्तक

everest kitchen

मुक्तक-१
आफ्नो लाज छिन-छिन पहिल्यै थाहा हुने भए
कमाउने धन ,लाग्ने रिन पहिल्यै थाहा हुने भए
अरु प्राणीलाई दु:ख दिने थिएन हाेला मान्छेले
आफुले सँसार छाेड्ने दिन पहिल्यै थाहा हुने भए ।

मुक्तक-२
आफ्नो घरमा लैजा भन्दा लाँदै लाँदैन
अभागीलाई मीठो दिँदा खाँदै खाँदैन
शरीरकाे फाेहाेर पानीले धाेएर जाला
नैतिकतामा लागेकाे खीया जाँदै जाँदैन ।

मुक्तक-३
फाइदा नहुन सक्छ हानि बाेकेर
अरुलाई डसी रहने बानी बाेकेर
साइत नपर्ला यात्रामा निस्कदा
गहभरि आँसुकाे खानी बाेकेर ।

मुक्तक-४
दुखकाे साथी,खान दिँदा भान्छे साेचेकाे भए
उसले मलाई सधैं आफ्नो ठान्छे साेचेकाे भए
ज्यानलाई दु:ख ,मनमा बैराग्य आउने थिएन
माया दिएर दिलकाे प्याराे मान्छे साेचेकाे भए ।

मुक्तक-५
छिमेकी भएर मलाई के काम गर्नु भाे ?
देश जनताकाे भलाइ के काम गर्नु भाे ?
मैले अरुकाे सेवा गर्दा सानाे जात भएँ
हजुर ! ठुलो हुनलाई के काम गर्नु भाे ?