मन्त्री श्रेष्ठ र मलेसियाका मानव संसाधन मन्त्री सराभननबीच भेटवार्ता, भेटमा केके भयो?

everest kitchen

मलेसिया । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली मलेसियाको औपचारिक भ्रमणमा रहेको छ । मन्त्री श्रेष्ठको टोलीले मलेसियाका मानव संसाधन मन्त्री माननीय दातुक सेरी एम. सराभननज्युसँग द्विपक्षीय वैठक गरेको छ।

वैठकमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको भन्दै दुवैपक्षले प्रसंशा गरेका छन् । बैठकमा नेपाल र मलेसियावीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने विषयमा छलफल गरेको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।

दुतावासका अनुसार, रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शुन्य लागत (जिरो कष्ट) सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा वृहत छलफलसमेत भएको छ ।

त्यस्तै, सो अवसरमा नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरुको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा पनि छलफल भएको थियोे ।

वैठकमा मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रुपमा नेपाली यूवाहरुलाई अवसर दिएकोमा धन्यवाद दिँदै यो क्षेत्रमा कार्यरत यूवाहरुको आधारभूत तलब बढाउने, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्र लगायतका सुविधाहरुको प्रवर्द्धन गराउन आफ्ना समकक्षी सराभननसंग अनुरोध गरेको उल्लेख गरिएको छ ।

साथै, वैठकमा नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै नै काठमाण्डौमा गर्ने र बैठकमा छलफल भएका विषयहरुलाई औपचारिकता दिने विषयमा समेत सहमति भएको दुतावासले जनाएको छ ।

मन्त्री श्रेष्ठको आमन्त्रणमा मलेसियाका मानव संसाधन मन्त्रीले छिटै नै नेपाल भ्रमण गर्समेत भएका छन् । मन्त्री लगायतको प्रतिनिधिमण्डलले मलेसिया स्थित सामाजिक सुरक्षा संस्था (सोक्सो) को समेत भ्रमण गरेको थियो । भ्रमणका क्रममा माननीय मन्त्रीज्यूले आग्रह गरे बमोजिम सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृतले सन् २०२३ को जनवरीदेखि लागुहुने गरी २४ सै घण्टा प्रभावकारी हुने गरी बिमा सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि वढाउने प्रतिवद्धता गरेका थिए ध।

भ्रमणकै सिसलिलामा मन्त्री श्रेष्ठले नेपाली राजदूतावासको निरीक्षण भ्रमण समेत गरेका थिए भने मलेसियामा रहेका नेपाली नागरिकहरुलाई राजदूतावासबाट भइरहेको सेवा प्रवाहको प्रसंशा गर्दै निरन्तर सुधारको लागि निर्देशन दिएका थिए । टोलिले नेपाली राजदूतावासको भवन निर्माण गर्नको लागि खरिद गरिएको पुत्रजयामा रहेको जग्गाको अवलोकन समेत गरेको छ ।

भ्रमणदलमा श्रममन्त्री श्रेष्ठसंगै, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री एकनारायण अर्याल, सहसचिव श्री राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल रहेका रहेका छन् । नेपाल- मलेसियाको द्विपक्षीय वैठकमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री मोतिबहादुर श्रीस र श्रम काउन्सेलर श्री दीपक ढकालले समेत सहभागीता जनाएका थिए ।