पहिलो खेलमा नेपाल जिम्बावेसँग पराजित

everest kitchen

काठमाडौं । जिम्बाब्वेविरुद्धको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आइतबार ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्दा नेपाल ६ विकेटले पराजित भएको हो ।

आक्रामक जवाफी ब्याटिङ गरेको जिम्बाब्वे ए विरुद्ध नेपालको अपेक्षा अनुसारको बलिङ चल्न सकेन । जिम्बाब्वेका लागि इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाउँदा कप्तान टोनी मुन्योङ्गाले २३ बलमा ७ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले ।

टाडिवान्से मरुमानीले ४१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५६ रनको इनिङ खेलेसँगै जिम्बाब्वे जित नजिक पुगेको थियो । यस्तै विकेटकिपर–ब्याटर क्लिभ माडन्डे ८ रनमा आउट हुँदा कुड्जाई मुन्जे ८ र रोए काया ६ रनमा अविजित रहे ।

बलिङ तर्फ नेपाली सिनियर टिममा डेब्यू गरेका बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ५० रन खर्चेर एक र करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट निकाले ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरुआत गरेका थिए । ३१ बलको सामना गरेका कुशलले ८ चौकासहित ४६ रनको शानदार इनिङ खेले । यस्तै १६ बलमा एक चौकासहित ९ रन बनाएर आशिफ आउट हुँदा आदिल आलमले २७ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४७ रनको इनिङ खेलेका थिए ।

तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहितकुमार पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाउँदा आरिफ शेख ४ बलमा २ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै करण केसी ४ रनमा अविजित रहे । बलिङ तर्फ जिम्बाब्वेका लागि ब्राड इभान्स, लुक जोङ्गवे, ब्रान्डोन माभुता र जोन मसाराले एक–एक विकेट लिए ।

यससँगै नेपालले जिम्बाब्वे ए विरुद्धको तीन ट्वान्टी–२० शृंखला अन्र्तगतको पहिलो खेलबाट हार भोग्दै शृंखलाको सूरुआत गरेको छ । जितसँगै जिम्बाब्वेले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको छ । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खल्नेछ । ट्वान्टी–२० पछि नेपालले एकदिवसीय सिरिज त्रिवि मैदानमा नै खेल्नेछ ।