मलेसियामा श्रम सम्झौता बिपरित श्रमिक ठग्नेलाई घिसारेर जेल हाल्छु : श्रममन्त्री श्रेष्ठ

everest kitchen

मलेसिया । नेपाली दुतावास मलेसियाको आयोजनामा मे १ तारीख मजदुर दिवसको अवसरमा मलेसियामा भ्रमणमा रहेका श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्ण बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागीहरुको प्रश्न तथा सुझावहरु बारे सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मलेसिया भ्रमणको क्रममा मलेसियाको श्रम मन्त्री तथा गृहमन्त्रीबाट नेपाली मेनपावर ब्यवसायीहरुले नेपाल मलेसिया बिच सम्पन्न श्रम सम्झौता बिपरित श्रमिकहरुबाट ठुलो रकम अशुली गर्ने कार्य गरि नेपालीहरु ठगिने गरेको जानकारी पाउँदा लज्जित भएको बताउदै, आफु मलेसियाबाट नेपाल फर्किएपछि त्यस्ता मेनपावर ब्यवसायीहरु र एजेन्टहरुलाई कानुनी दाहेरामा ल्याई घिसारेर जेल हाल्ने बताए ।

मलेसियामा अस्वस्थ प्रतिस्पर्धा गर्दै आफ्नो मेनपावर कम्पनीमा डिमाण्डको कोटा पार्ने होडबाजी गर्न २०० भन्दा बढि मेनपावर ब्यवसायी तथा एजेन्टहरु मलेसियामा आएको हामीलाई जानकारी छ, “मन्त्री श्रेष्ठले भने ।

मे १ बाट मलेसियाको सरकारले श्रमिकहरुको न्युनतम तलव १५०० रिंगेट बनाएको कारण १५०० रिंगेट भन्दा कमी न्यूनतम तलव भएका कम्पनी तथा नेपालीहरुलाई दुख दिएका कम्पनीहरुको दुतावासबाट माग पत्र प्रमाणीकरण नगर्न निर्देशन दिएका थिए ।

सेक्युरिटी गार्डहरुको तलव ३००० रिंगेट बनाउन मलेसियाका श्रम मन्त्री र गृहमन्त्री संग प्रस्ताव गरेको र यसको कार्यनयनको लागि मलेसियाको सरकारको प्रतिनिधि र नेपाली दुतावासका कार्यबाहक राजदुत बिच छिटै सम्झौता हुने बताए । साथै २४ घण्टे बिमा लागू गर्न र सोक्सो सामाजिक सुरक्षालाई अझै धेरै प्रभावकारी बनाउन पनि प्रस्ताव गरेको उनलेे जानकारी गराए ।

बैदेशिक रोजगारीमा रहेकाहरुको हितका लागि १२ बुदे प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको र बैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकलाई ठुलो राहत हुने किसिमको अबको बजेट आउनेमा विश्वस्त रहन उनले आग्रह गरे । बैदेशिक रोजगारीबाट स्वदेशमा २० लाख रुपैयाँ वैधानिक तरीकाले रेमिटान्स गर्ने नेपालीलाई नेपाल सरकारको तर्फबाट २० लाख रुपैयाँ थप गरि स्वरोजगार बनाउने प्रस्ताव पनि समावेश गरेको उनले बताए ।

त्यस्तै, मलेसियाको प्रहरी प्रसाशन र अदालतबाट हुने गरेको समस्या तथा ढिला सुस्तीलाई समाधानको लागि नेपाल प्रहरीको टोली र आफ्नै वकिल पनि राख्ने ब्यवस्था मिलाउने प्रतिबद्धता उनलेे ब्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रमको अतिथि तथा सहयोगीलाई स्वगत तथा कार्यक्रमको बारे जानकारी नेपाली दुतावास मलेसियाका कार्यवाहक राजदुत मोति बहादुर श्रीशले गरेका थिए । साथै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले मन्तब्य दिएका थिए ।

कार्यक्रममा मलेसियाको विभिन्न ठाउबाट सयभन्दा बढि नेपाली श्रमिक तथा ब्यवसायीहरु सहभागी उक्त कार्यक्रममा प्रतिनिधिमुलक प्रश्न तथा सुझाव राखिएको थियो ।